अर्घाखाँचीमा सातौँ कृषि गणना शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सातौँ कृषि गणना आजदेखि शुरु भएको छ । 
कृषक परिवारको विवरणसँगै कृषि कर्मका हरेक विषय समेट्ने गरी थालिएको हो । आगामी जेठ १९ गतेसम्म गणना जारी रहने छ । 
जिल्ला कृषि गणना कार्यालय अर्घाखाँचीका अधिकृत राम बहादुर थापाले डट्कमलाई जानकारी गराए अनुसार गणनाअन्तर्गत कृषक परिवारले चलन गरेको जग्गाको उपभोक्ता र उपयोग, कित्ताको वितरण, सिँचाइ गरेको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन र कन्दमूल, तेल, नगदे, मसला बाली, फलफूललगायतले ओगटेको क्षेत्रफल तथा प्रमुख बालीहरूको उत्पादन, बीउबिजन, विषादी र मलखादको प्रयोग सम्बन्धमा तथ्याङ्क लिइने छ ।
त्यस्तै पाल्तु पशुपक्षीको सङ्ख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछापालन, मौरीपालन, च्याउखेती, पुष्पखेती, रेशमपालन, कषिमा ऋण, बीमा अनुदान, कृषिमा वातावरणको प्रभाव, खाद्यान्नको पर्याप्तता र परिवारका अन्य आर्थिक क्रियाकलाप, कृषि कामदारसँगै गणनामा महिलाको नाममा रहेको जग्गाको बारेमा समेत विवरण सङ्कलन गरिने बताइएको छ ।
गणना गरिने वडाको भूउपयोग, समुदायमा हुने प्रमुख कृषि उत्पादन र उत्पादकत्व, सम्बन्धी विकास कृषि कामदारको अवस्था र पारिश्रमिक, विपद्का घटनाले समुदायमा पारेको असर, सेवा सुविधा, कृषि बजार, विकास निर्माणका योजना, फोहर व्यवस्थापन, जङ्गली जनावरले कृषिमा गरेको क्षति, सामुदायिक कुकुर र गाईवस्तुको सङ्ख्या सङ्कलन गरिने छ । 
कृषि गणनामा जिल्लाको छत्रदेव गाउँपालिकामा ६ जना गणक र १ जना सुपरीभेक्षक, मालारानी गाउँपालिकामा ६ जना गणक र २ जना सुपरीभेक्षक, पाणिनी गाउँपालिकामा ७ जना गणक र २ जना सुपरीभेक्षक, भूमिकास्थान नगरपालिकामा ७ जना गणक र २ जना सुपरीभेक्षक, सन्धिखर्क नगपालिकामा ८ जना गणक र २ जना सुपरीभेक्षक र शितगंगा नगरपलिकामा ९ जना गणक र २ जना सुपरीभेक्षक गरि जिल्लाभर ४३ जना गणक र ११ जना सुपरीभेक्षक परिचालन भएका छन् । 
नेपालमा विसं २०१८ देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक १०–१० वर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आएको छ ।
कृषि क्षेत्रको वास्तविक तथ्याङ्क पप्ता लगाउँदै यसको आधुनिकीकरण एवं व्यावसायीकरणलाई समेत जोड दिने सरकारको लक्ष्यअनुरुप २०७८ चैत २५ देखि वैशाख २ गतेसम्म तथ्याङ्क सङ्कलन गरिएको थियो ।  

अन्य समाचारहरु