अर्घाखाँचीमा निर्वाचन आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री हटाउन शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा निर्वाचन आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री हटाउन शुरु गरिएको छ। 
स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागु गर्न थालेको हो।
सन्धिखर्क लगायत जिल्लाभर निर्वाचन आचारसंहिता विपरीतका गतिविधि रोक्न सोमबारदेखि निर्वाचन आयोगको टोली, सुरक्षाकर्मीलगायतले बजार अनुगमन गरेर बजार क्षेत्रका दायाँबायाँ दलहरूले राखेको पार्टीका झन्डा तथा चुनाव चिह्न हटाउन शुरु गरिएको हो।
यस्तै सार्वजानिक तथा निजी सवारी साधनमा राखेको झन्डा तथा सार्वजानिक घर विद्युतको पोल लगायत स्थानमा राखेको झन्डा हटाइएको छ। निर्वाचन आचारसंहितामा सार्वजानिक ठाँउमा झन्डा, पोष्टर निर्वाचन चिन्ह टास्न राख्न नपाउने व्यवस्था भएकाले सुरक्षाकर्मी परिचालन गरेर हटाउन थालिएको जिल्ला मुख्य निर्वाचन कार्यालयले जानकारी दियो। 
जिल्लामा क्रियाशिल दलहरूसँग बसेर निर्वाचन आचारसंहितासम्बन्धी छलफलसमेत गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ। पटक–पटक निर्वाचन आचारसंहिता पालना गर्न राजनितिक दलहरूलाई ताकेता गरे पनि कार्यान्वयन नभएको आयोगले जनाएको छ।
बजार क्षेत्रलगायतका सार्वजनिक स्थानमा राखिएको झन्डा ब्यानर हटाएको छ। यस्तै, सार्वजानिक तथा निजी गाडीमा राखेको झन्डासमेत प्रहरीले निकाल्न लगाएको छ।
उता यसअघि बैठकमा निर्वाचन आचारसंहिता पालना गर्ने दलहरूले प्रतिबद्धता जनाएका थिए। अर्घाखाँचीमा जिल्लामा दलहरूले सार्वजनिक स्थलमा चुनाव चिह्न प्रदर्शन, झन्डाको तोरण प्रदर्शन, चुनाव चिन्हको भित्तेलेखन नियमानुसार भन्दा धेरै सवारीसाधन प्रयोग गरेको देखिन्छ । 

अन्य समाचारहरु