अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम दिइएको छ ।
जिल्लाभरका मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आईतवार र सोमवार पाणिनी बहुमुखी क्याम्पसमा तालिम सञ्चालन गरिएको थियो ।
तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन कार्यालयका अनुसार मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिका बारेमा सिकाइएको छ । साथै मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ ।
निर्वचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले काम कसरी गर्ने भन्ने विषयमा तालिम दिइएको छ ।