अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । स्थानीय निर्वाचन हुन दुई दिन मात्र बाँकी हुँदा काठमाडौं उपत्यका र बुटवलबाट अर्घाखाँची जानेको यात्रुहरूको चाप बढेको छ।
बैशाख ३० गते अर्थात शुक्रबार हुन गई रहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यका र बुटवलमा बसोवास गर्ने मतदाताहरु आ–आफ्नो उम्मेदवारलाई मतदान गर्नका लागि अर्घाखाँची गाउँतर्फ फर्केका हुन् ।
मतदाता ओसार्न गठबन्धन र नेकपा एमाले लगायतका राजनीतिक दल वा नेताहरूले व्यक्तिगत रूपमा गाडी रिर्जभ गरेर पनि पठाइरहेका छन्।
बुधबार विहानैदेखि काठमाडौं र बुटवलबाट अर्घाखाँची जानेको भीड लागेको थियो । निर्वाचन आयोगले मंगलबार मध्यराती देखिनै मौनअवधि लागु गरेको छ भने शुक्रबार यातायात ठप्प हुने भएपछि मतदाताहरु घर जान बुधबार भीड लागेको पाइएको हो ।
सरकारले निर्वाचनको दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ। त्यस दिन आन्तरिक हवाई सेवा पनि बन्द हुने छ। यसले बिहीबारसम्म गाउँ पुग्ने गरी मानिसहरू धमाधम उपत्यकाबाट बाहिरिन थालेका हुन्।