लोपोन्मुख राउटे समुदायले प्रधानमन्त्री नेपाललाई भेट

Photo8प्रधानमन्त्री माधवकुमार नेपालसँग लोपोन्मुख राउटे समुदायका व्यक्तिहरुले भेट गरेका छन् । राउटेका मुखिया ऐनबहादुर शाहीको नेतृत्वमा आएको राउटे समुदायको १३ जनाको टोलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटी आफ्नो समुदायको हकअधिकारलाई नयाँ संविधानमा समावेश गर्नुपर्ने प्रस्ताव राखेको थियो ।


मुखिया शाहीले राउटे समुदायलाई खाद्य र लुगाफाटोको समस्या भएकाले सरकारले व्यवस्था गरिदिनुपर्ने बताउनुभयो ।


भेटमा प्रधानमन्त्री नेपालले राउटे समुदायका लागि विद्यालय तथा घरको व्यवस्था गरिदिने आश्वासन दिनुभएको छ । प्रधानमन्त्री नेपालले राउटे समुदायले उत्पादन गरेका सामान सरकारले किनिदिने आश्वासन दिनुभयो ।


राउटे समुदायको प्रतिनिधिमण्डलले प्रधानमन्त्री नेपालसँग दुईवटा खसिको माग गरेको थियो । त्यस्तै प्रधानमन्त्री नेपालसँग साविक पाउँदै गरेको एक हजार रुपियाँको मासिक भत्ता वृद्धि गरी दुई हजार रुपियाँ पुर्‍याउन माग गरेका थिए । त्यस क्रममा प्रधानमन्त्री नेपालले उनीहरुका माग पूरा गरिदिने आश्वासन दिनुभएको थियो ।


वहुउद्देश्यीय शिक्षा तथा स्वास्थ्य सेवा नेपालले राउटेहरुलाई सुर्खेतबाट प्रधानमन्त्रीसँग भेट गराउन काठमाडौंसम्म ल्याएको थियो । देशभरि ३ सयको हाराहारीमा रहेका लोपोन्मुख राउटे जाती सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, दाड र अछाममा बस्दै आएका छन् ।