सन्धिखर्क नगरपालिकाको मेयरमा एमालेका कृष्ण प्रसाद श्रेष्ठ र उपमेयरमा मिश्रा आचार्य विजयी
जेष्ठ ४ गते, २०७९ मा प्रकाशित
हरि कुँवर |अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेका कृष्ण प्रसाद श्रेष्ठ र उप प्रमुखमा मिश्रा आचार्य विजयी भएका छन् ।
कांग्रेसका उम्मेद्वार शान्ता भण्डारीलाई १ हजार ८ सय एक मतले पछी पार्दै श्रेष्ठले मेयर जितेका हुन् । विजयी भएका श्रेष्ठले ११ हजार १ सय ३५ मत ल्याउँदा कांग्रेसकी शान्ता भण्डारीले ९ हजार ३ सय ३४ मत मात्र ल्याउन सकिन् ।
२०७४ को स्थानिय निर्वाचनमा पनि श्रेष्ठ एमालेको तर्फबाट उम्मेद्वार थिए । त्यसबेला उनी नेपाली कांग्रेसका कमल प्रसाद भुसाल संग १ हजार १ सय तिन मतले पराजित भएका थिए । श्रेष्ठ लामो अवधी उद्योग बाणिज्य संघ, अर्घाखाँचीको अध्यक्ष रहँदै उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य समेत भएर काम गरे ।
यस्तै उपप्रमुखमा एमालेकै मिश्रा आचार्य विजयी भएकी छिन् । आचार्यले ९ हजार ६ सय ४६ मत ल्याईन् । गठबन्धन बाट उम्मेद्वार बनेका माओवादी केन्द्रका राजेन्द्र भुसालले ९ हजार १ सय ६८ मत ल्याए । आचार्यले भुसाल भन्दा ४ सय ७८ मत बढी ल्याएर विजयी भएकी हुन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि श्रेष्ठ नगर प्रमुखमा उम्मेदवार थिए । त्यतिबेला कांग्रेस–माओवादीको चुनावी तालमेलमा कांग्रेसका कमलप्रसाद भुसालसँग ११ सय ३ मतान्तरले श्रेष्ठ पराजित भएका थिए । दोस्रो पटकमा श्रेष्ठ फराकिलो मतान्तरले विजयी भए ।
निर्वाचित श्रेष्ठको पार्टी एमालेले नगरको १२ वटा वडामध्ये वडा २, ६, ७ र ९ वडा अध्यक्षमा जित हासिल गरेको छ । माओवादीले वडा १० र कांग्रेसले वडा १, ३, ४, ५, ८, ११ र १२ वडा अध्यक्ष जितेको छ ।
सन्धिखर्क नगरपालिका नेकपा (एमाले) का केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घर भएको नगरपालिका हो । रायमाझीसँगै कांग्रेस केन्द्रीय सदस्य एवं संघीय संसदीय दलकी सचेतक पुष्पा भुसाल, केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, माओवादी केन्द्रका नेता डिलाराम आचार्यको जन्म घर हो । सबै नेताको एउटै ९ नम्बर वडामा घर पर्छ । उक्त वडा पनि एमालेले जितेको छ ।
जिल्लाका ६ स्थानीय तहमध्ये ५ पालिकाको अन्तिम मतपरिणम सार्वजनिक भएको छ । शितगंगा नगरपालिकाको मतगणना जारी छ ।
एमालेले पाणिनि र मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिकामा दुवै पद जितेको छ । छत्रदेव गाउँपालिकामा उपाध्यक्ष पद जितेको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा ४ पालिका मध्ये पाणिनिमा अध्यक्ष, छत्रदेवमा दुवै पद, शितगंगा र सन्धिखर्क नगरमा प्रमुख र भुमिकास्थान नगरमा उपप्रमुख पद जितेको कांग्रेसले यसपाली छत्रदेव गाउँपालिकाको अध्यक्ष पद मात्रै जितेको छ । भुमिकास्थान नगर प्रमुखमा राजमो र माओवादीले जितेको छ । २०७४ मा एमालेले मालारानी गाउँपालिकाका दुवै पद र पाणिनिको उपाध्यक्ष पद जितेको थियो । एमालेबाट पाणिनिको उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम केही महिना अघि कांग्रेसमा प्रवेश गरेकी थिइन । कांग्रेसले उनै गौतमलाई पुनः उपाध्यक्ष पदमा उम्मेदवार बनाएको थियो । एमालेकी नर्मदा पौडेलसँग पराजित भइन ।