कञ्चनपुरको दक्षिणीक्षेत्र रौतेलीविचुवा गाविस-९ झिलमिलामा रहेको दशौं बिगाह नेपाली भुमिमा भारतीय पक्षले दिनहुँ अतिक्रमण गरी खेती लगाइरहेको छ ।
झिलमिलामा पर्ने सीमा स्तम्भ नम्बर २८ र २९ को बिचमा पर्ने नेपाली भुमि भारतले ट्रयाक्टर लगाएर जोत्न थालेको छ । भने झण्डै १४/१५ विघा हालसालै जोतेर उखु खेती गरेको देखिएको छ ।
भारतीय पक्षले दुई सीमा स्तम्भ भन्दा दुई सय मिटर वर नेपाली भुमिसम्म अतिक्रमण गरी खेती लगाइसकेका छन् ।
झिलमिलाका स्थानियवासी माने रोकायाले दिएको जानकारी अनुसार विगत भन्दा यो समयमा भारतले नेपाली भुमि दिनहुँ अतिक्रमण थालेको छ । विषेश गरेर सोक्षेत्रमा भारतले बषर्ातमा बढी अतिक्रमण गर्ने गरेको स्थानियहरुको भनाई छ । त्यस्तै सीमा स्तम्भ नम्बर २८ र २९ को बिचमा पर्ने साविक पिल्लर पनि भारतले सार्ने योजना अनरुप साविक सीमा छेउछाउमा माटो निकाल्न सुरु गरेको छ ।
आइतबार अतिक्रमित झिलमिला क्षेत्रको सीमानामा पुग्दा एक भारतीय नम्बर प्लेटको ट्रयाक्टर दिउसै नेपाली भुमि जोतिरहेको थियो । नेपाली भुमि किन यसरी जोतिरहेको भनि ट्रयाक्र चालकलाई गरिएको प्रश्नमा चालकले माथिबाट जोत्न लगाएको प्रतिक्रिया दिए । यसरी दिदहाडै नेपाली भुमि अतिक्रमण भइरहदा स्थानिय प्रशासन भने वेखवर रहेको छ । झिलामिला क्षेत्रका स्थानिय बासिन्दाहरुले ५/६ महिनादेखि लगातार नेपाली भुमि अतिक्रमणबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउदा समेत अतिक्रमण रोक्न कुनै खाले पहल नभएको स्थानिय माने रोकायाले बताउनुभयो । सीमा स्तम्भ नं. २९ भन्दा झण्डै दुई किलोमिटर वर झिलामिला प्रहरी चौकी छ ,तर प्रहरीहरु प्नि अतिक्रमण बारे बेखबर थिए ।
सो सीमाना आइतबार संवाददातासंगै झिलामिला प्रहरी चौकीका हवल्दार दानसिंह साउद पनि अतिक्रमण भइरहेको स्थानमा पुगेका थिए । त्यसपछि मात्र हवल्दार साउदले आफ्नो माथिल्लो निकायमा अतिक्रमणबारे जानकारी गराएका थिए । त्यसबाट पनि प्रष्ट हुन्छ, भुमि अतिक्रमण बारे हाम्रो नेपाली प्रहरी प्रशासन कति लाचार छ भनेर ।
केशवराज जोशी/झिलमिला, कञ्चनपुर