ताराको जहाज खोजी काम रोकियो, सेनाले भोलि बिहानैदेखि खोज्ने।

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज खोज्न हिँडेको नेपाली सेनाले उद्दार गर्ने काम स्थगित गरेको छ। आइतबार दिउँसोबाट खोजी तथा उद्धार गर्न खटिएको टोलीले रात परेकाले खोजी स्थगित गरेको हो।
टोलीले भोलि बिहानैबाट खोजी काम पुनः सुरू गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। 
‘खोजी गर्ने काम आजलाई रोकेका छौं। भोलिबिहान जति चाँडो छिटो उद्धारको काम सुरू गर्छौं,’  ‘आज अध्याँरो भएको हुनाले रोक्यौं। टोली जहाँसम्म पुगेको छ त्यही उपयुक्त ठाउँ खोजेर बस्छ।’
नेपाली सेनाको मुस्ताङको घासास्थित पोष्टबाट ६५ जनाको टोली पैदल खोजी गर्न परिचालन भएको थियो। त्यस्तै नेपाली सेनाकै हेलिकप्टर पनि काठमाडौंबाट पठाइएको थियो। 
मौसमका कारण हेलिकप्टरबाट खोजी गर्न कठिन भएको थियो। 
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ। तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।
जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।
जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए। 
फ्लाइटराडारको तथ्यांकअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। जहाज घाँसासिखा क्षेत्रबाट हराएको देखिन्छ।सेतो पाटिले उल्लेख गरेको छ।