अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका कृषकलाई धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् ।
मकै गोड्ने बेलादेखि नै मलको अभाव भएपछि समस्या भएको जिल्लाका कृषक गुनासो छ । कृषकहरु भन्छन्; “मकै गोड्दा पनि मल चाहिन्थ्यो, त्यो बेला पनि पाइएन, “अब धान रोप्ने बेला आउन लाग्यो, मल चाहिँ कहिले आउँछ कुन्नि ।”
मकै गोड्ने बेला सन्धिखर्कमा मल नपाएपछि जिल्ला बाहिर पुगेर मल खरिद गरेर ल्याएको कृषकको गुनासो छ । “जिल्लामा बर्सेनि मलको अभाव हुन्छ, तर सरकारले कृषकको समस्याप्रति ध्यान दिएको पाइएन ।” असारको पहिलो साताबाट धान रोप्ने तयारी गरेका कृषकले अहिले धानको बीउ राख्ने बेला भए पनि मल नपाउँदा सास्ती भएको बताए । “अहिलेसम्म मल पाउने सुरसार छैन, के गर्ने कसो गर्ने अलमल परेको उनिहरुको भनाई छ ।
उता जिल्लामा मलको कालोबजारी हुँदा पनि प्रहरी प्रशासन मौन बसेको भन्दै स्थानियबासीहरु आक्रोसित भएका छन् । छत्रदेव गाउँपालिकाका
विवेकशिल साँझा पार्टीबाट पालिका प्रमुखका उम्मेद्वार उठेका पशुपती पाण्डेले भने; मलको कालोबजारी गर्नेलाई पक्राउ गर्ने अधिकार जिल्ला प्रहरी कार्यालय अर्घाखाँची, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई नभएकै हो र? यदि अधिकार हो भने के हेरेर बसेका छन् निकायहरू? कि तलब-भत्ता मात्र खाने? खुलेयाम कालोबजारी हुन दिने नीति हो?
वर्षौदेखि रासायनिक मल हालिरहेको खेतबारीमा गोबर मल मात्रैले काम नगर्ने किसान बताउँछन् । सन्धिखर्क ४ का कृष्ण श्रेष्ठले गोबर मलले मात्रै नहुने भएकाले रासायनिक मल आवश्यक पर्ने बताउनुभयो । “तर सधैँ मल अभाव भइरहन्छ, कृषकलाई एकदमै सास्ती छ, मल खोज्दै भौतारिनुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो ।
यस्तै धान रोप्ने बेला डिएपी र गोड्ने बेला युरिया मल प्रयोग गरिन्छ ।