अर्घाखाँचीमा मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः शुरु

हरि कुँवर | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा मतदाता नामावली दर्ता प्रक्रिया शुरु भएको छ।
जिल्लामा निर्वाचन आयोगले आज असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गरेको हो । 
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गते बुधबारदेखि अर्घाखाँची जिल्लामा मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु भएको छ।
मतदाता नामावली सङ्कलन सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट हुने छ ।
यसैगरी, पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने पनि आयोगले जनाएको छ ।
मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याइने छ ।
यसैगरी,  कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने । निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदन उपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाण समेत स्क्यान गरी पठाउने र कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलवाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिने  छ ।
मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो निवेदन उपर प्रमाण कागजात हेरी प्रमाण पुगेका आधारमा सम्बन्धित नाम दर्ता अधिकारीले नामावलीे अद्यावधिक गर्ने छ । मिति २०७३/१०/२० भन्दा अघि दर्ता भई नागरिकतामा उल्लेखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सारी पाउन निजको मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा निजको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगाना भएको स्थानीय तहको वडामा सार्ने व्यवस्था मिलाइने छ ।
कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाई सरी गएको कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा नाम दर्ता अधिकारीले प्रचलित कानुन बमोजिम प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्था मिलाउने । यस्तो सूचनाको विवरण उपर निर्वाचन कार्यालयमा कुनै उजुरी परेमा सोको छानबिन गरी पेश भएको प्रमाण बमोजिम र उजुरी नपरेमा सोही बमोजिम निर्वाचन कार्यालयले नामावली अद्यावधिक गरिने छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा हुने सम्भावना रहेकोले सो घोषणा हुनु पूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकहरुलाई आफ्नो नाम दर्ता गराउन आयोग अनुरोध गरेको छ ।

अन्य समाचारहरु