काठमाडौँ — अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परेर एक हजार जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार तालिबान अधिकारीहरूले १ हजार ५ सयभन्दा बढी घाइते भएको जनाएका छन् ।
सोसल मिडियामा भूकम्पका कारण भूस्खलन र तहसनहस भएको माटोको घर लगायत तस्बिरहरू व्यापक रुपमा सार्वजनिक भएका छन् । भूकम्पको धेरै क्षति पूर्वी प्रान्त पक्कितामा भएको बताइएको छ । उक्त क्षेत्रमा उद्दारकर्मीको टोलीले उद्धार जारी राखेको बताइएको छ ।
भूकम्पपछि सो प्रान्तमा धेरै घरहरू भग्नावशेषमा परिणत भएका छन् । दुर्गम क्षेत्रका घाइतेहरूलाई हेलिकप्टरको सहयोगमा उद्धार गरेर अस्पताल भर्ना गरिएको छ ।
तालिबानका नेता हिब्तुल्लाह अखुंदजादाले सयौं घरहरू भत्किएको भन्दै मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने बताएका छन् ।
तालिबानको संकट प्रबन्ध उपमन्त्री शरफुद्दीन मुस्लिमले पत्रकार सम्मेलन गर्दै भूकम्पको क्षति र उद्धार प्रयासबारे जानकारी दिएका थिए ।
स्थानीय समयअनुसार बुधबार बिहान १ बजेर ३० मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु खोस्ट सहरबाट ४४ किलोमिटर टाढा रहेको बताइएको छ। पृथ्वीको सतहभन्दा ५१ किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का निकै पर भारतमा समेत महसुश गरिएको बीबीसीले जनाएको छ । आफगानिस्तानमा दुई दशकपछि शक्तिशाली भूकम्प गएको हो ।
-एजेन्सी