सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति सगै ,पेट्रोलको मूल्य २० रुपैयाँले र डिजेलको मूल्य २९ रुपैयाँले घट्यो।

काठमाडौँ — सरकारले करमा कटौती गर्दै  पेट्रोलियम पदार्थको मूल्य घटाउने  घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।
मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।
सुरुमा मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ घटाइएपछि नयाँ मूल्य १६३ हुन आउने बताएका थिए । तर अहिलेको मूल्य १९२ रुपैयाँमा २८ घटाउँदा १६४ हुन आउँछ । बारम्बार मन्त्री बडूले २८ रुपैयाँ घटाएपछि १६३ भएको बताइरहेपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले २८ घटाउँदा १६४ हुन्छ भनेका थिए ।त्यसपछि मन्त्री बडूले डिजेलको नयाँ मूल्य १६३ नै भएको र त्यसका लागि जति घटाउनुपर्ने हो घटाउन निर्देशक थानीलाई निर्देशन दिए । 
यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई सुझाव दिएको थियो ।
नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ । एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट १३१.९१ रुपैयाँमा खरिद गरिएको पेट्रोल सर्वसाधारणले १९९ मा खरिद गर्छन् । त्यस्तै, १४६.५२ रुपैयाँमा खरिद गरिएको डिजेल उपभोक्ताले १९२ रुपैयाँमा किन्नुपर्छ । हाल पूर्वाधार करबापत पेट्रोल/डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ । सुरुमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका नाममा उठाउन थालिएको करलाई पछिल्लो समय पूर्वाधार निर्माण नामकरण गरिएको छ । उक्त शीर्षकबाट भन्सार बिन्दुमै सरकारले प्रतिलिटर १० रुपैयाँ असुल्छ 
सरकारले पूर्वाधारसहित विभिन्न शीर्षकमा लगाउँदै आएको कर तथा आयल निगमको खर्च शुल्कले मूल्य अचाक्ली बढेको हो । नेपाल आयल निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ६५.६१ रुपैयाँ सरकारी राजस्व लाग्छ । त्यसमा ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित खुद्रा मूल्य १९९ रुपैयाँ पुर्‍याइएको छ ।
त्यस्तै, डिजेलमा प्रतिलिटर ४९.५३ रुपैयाँ सरकारी राजस्व लाग्छ । ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित जोडेर प्रतिलिटर १९२ रुपैयाँ मूल्य तोकिएको छ । खरिदको तुलनामा बिक्री मूल्य उच्च भए पनि निगमले भने घाटामै रहेको बताउँदै आएको छ ।कान्तिपुरले समाचारमा उल्लेख गरेको छ।