चितवन। डा. भक्तमान श्रेष्ठको अपहरणमा एकीकृत नेकपा -माओवादी)को संलग्नता रहेको युवा सङ्घ नेपालले दाबी गरेको छ । सङ्घले गठन गरेको डा. भक्तमान श्रेष्ठ अपहरण छानबिन तथा सहयोग युवा आयोगले आज भरतपुरमा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो ।
सङ्घका अध्यक्ष महेश बस्नेतले घटनाको अनुसन्धानका क्रममा आफूहरूले अपहरण एमाओवादीबाटै भएको पाएको बताउनुभयो । उहाँले छिट्टै डा. श्रेष्ठलाई अपहरणपछि कहाँकहाँ राखियो भन्ने स्पष्ट पारिनेसमेत बताउनुभयो ।
अहिलेसम्मका तथ्य हेर्दा डा. श्रेष्ठलाई चितवनको बेथान स्मृति बि्रगेड, शक्तिखोर र नवलपरासीको झ्यालटुङडाँडा र कुलेखानीमा राखिएको आफूहरूले पाएको बस्नेतको भनाइ थियो ।
अध्यक्ष बस्नेतले एमाओवादीका विगतका क्रियाकलाप, एमाओवादी नेताको भनाइ, एमाओवादीले बनाएको छानबिन समितिको प्रतिवेदन, परिवारका कुरा र सुरक्षा निकायको गतिविधिलाई हेर्दा पनि घटनामा एमाओवादीको संलग्नता रहेको भन्ने पुष्टि भएको दाबी गर्नुभयो ।
एमाओवादीले विगतमा यानप्रसाद गौतम र रामहरि श्रेष्ठको हत्या गरेको उदाहरण प्रस्तुत गर्दै आर्थिक विषयवस्तुकै कारण डा. श्रेष्ठको अपहरण भएको उहाँले बताउनुभयो ।
सङ्घले सार्वजनिक गरेको प्रतिवेदन पा्ररम्भिक भएको र विस्तृत प्रतिवेदन केही दिनमा काठमाडौँमा सार्वजनिक गरिने बताउँदै समितिका संयोजक राजीव पहारीले अपहरणमा सुरुदेखि नै अपहरणकारी र प्रहरीबीच साँठगाँठ रहेको आशङ्का गर्नुभयो ।