अर्घाखाची डट्कम ,सम्बाददाता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार तत्काल हतियार किन्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेताहरूले देशमा डलरको सञ्चिती घटेर अर्थतन्त्र धरासयी बनिरहेका बेला नेपाल प्रहरीका लागि डलर खर्च गरेर हतियार किन्न लागेको भन्ने विषय उठाएपछि कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले सरकार तत्काल हतियार किन्ने पक्षमा नरहेको प्रष्ट पार्नुभएको हो ।
तत्काल गृहमन्त्रीलाई हतियार नकिन्न निर्देशन दिने उहाँको भनाइ छ । बैठकमा नेता गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले देशलाई आर्थिक संकट परेको सरकारले बेला केका लागि हतियार किन्न लागेको हो भन्दै प्रश्न गर्नुभएको थियो ।
विदेशी मुद्रा सञ्चिति घटेका कारण अर्थतन्त्र धरासायी बनेको भन्दै आयातमा कडाइ गरिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको सार्वजनिक भएको थियो ।
नेपाल प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेको थियो । सरकारले आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि ८४ करोड रुपैयाँ रकमान्तर गरिदिएको छ ।
स्थानीय तह निर्वाचनको समीक्षा गर्न गत सोमबारदेखि सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी छ ।