काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख चयनका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ ।
शुक्रबार अपराह्न ३ बजे बस्ने संसद बैठकले करिब साँढे २ वर्षपछि प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने भएकाे हाे। निर्वाचनमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराउनुभएको छ । भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङ रहनुभएको छ भने नेकपा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीले समर्थन गर्नुभएको छ ।
यसैगरि नेकपा एमालेले विद्या भट्टराईलाई अघि सारेको छ । उहाँले पनि उपसभामुखको उमेदवारी दर्ता गराउनुभएको छ । भट्टराईको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहनुभएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् भने चार जना निलम्बनमा परेका छन् । बाँकी रहेका २ सय ६६ जनाले मतदान गर्न पाउँछन् ।
उपसभामुख जित्नका लागि १ सय ३४ मत आवश्यक पर्छ । गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् । जनता समाजवादी पार्टीका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक–एकजना सांसद छन् ।
सत्ता गठबन्धनकी उम्मेदवार भुषाल उपसभामुख बन्ने निश्चित जस्तै देखिएको छ ।