काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई उनका ज्योतिषी सुरेशचन्द्र रिजालले संघीय तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ को मिति उपयुक्त हुने सुझाव दिएका छन् ।
‘मंसिर १० पछि शुक्लपक्षको समय छ । त्यो बेला निर्वाचन गर्दा थोरै समस्या होला’, उनले भने, ‘मैले भनेकै दिन निर्वाचन हुन्छ नै भन्ने त होइन । मंसिरको पहिलो साता उपयुक्त छ । त्यसमा मंसिर ४ सबैभन्दा उत्तम दिन हुन्छ ।’
मंसिर ४ एकादशी र दुई पुष्कर योगको दिन परेकाले सर्वाधिक राम्रो दिन रहेको रिजाल बताउँछन् । पुष्कर योग भएको दिनमा गरिएको कार्यले संयुक्त सरकारका दलहरुलाई बढी लाभ मिल्ने उनको भनाइ छ ।
‘अहिले दुई भन्दा बढी दल मिलेर नै सरकार चलाउने योग हो । गठबन्धन अघि बढाउन दुई पुष्कर योग भएको दिनमा निर्वाचन गर्नु राम्रो हुन्छ’, रिजालले भने । त्यसपछिका अन्य शुभ दिनमा मंसिर ८ र १० गते रहेको उनको भनाइ छ ।
असार २२ मा निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री देउवालाई मंसिर २ गते निर्वाचन गर्न परामर्श दिएको थियो । सोही छलफलमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मंसिर ४ गते आइतबार मतदानका लागि उपयुक्त हुने धारणा राखेका थिए ।