सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने

सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ । स्थानीय चुनावमा एक लाख भर्ना गरिएका थिए । आगामी चुनावमा मतदानस्थल बढ्ने भएकाले म्यादीको संख्या बढाउन लागिएको हो । नेपाल प्रहरीले एक लाख २० हजार म्यादी भर्नाको प्रस्ताव गरेको थियो । अर्थ मन्त्रालयले पाँच हजार घटाएर बजेटको सुनिश्चितता गरेको छ । सुरक्षा निकायलाई बजेट तय गरी अर्थले त्यससम्बन्धी पत्र आइतबार गृह मन्त्रालयमा पठाएको छ । जसअनुसार एक लाख १५ हजार म्यादी प्रहरी ४० दिन खटिँदा लाग्ने करिब ६ अर्ब रुपैयाँ बजेटको सुनिश्चितता दिइएको छ ।
तलब   : २६ हजार ८२ रुपैयाँ
स्थानीय निर्वाचनमा म्यादीले २२ हजार ६८० रुपैयाँ तलब पाएका थिए, यसपटक २६ हजार ८२ रुपैयाँ पाउनेछन् । अर्थ मन्त्रालयले म्यादीका लागि करिब ६ अर्ब बजेट सुनिश्चित गरेको छ ।
चुनावी सुरक्षाका लागि अर्थ मन्त्रालयबाट बजेटको सुनिश्चितता आएको र त्यसले सुरक्षा योजना बनाउन सहज हुने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । ‘एक लाख १५ हजार म्यादीका लागि बजेट सुनिश्चित भयो भन्ने छ,’ उनले भने, ‘अब छिट्टै हामी एकीकृत सुरक्षा योजना बनाउँछौँ ।’ 
मतदानस्थल 
स्थानीय तह निर्वाचनमा १० हजार ७५६ मतदानस्थल थिए, यसपटक त्यसमा करिब पाँच सय थपिने सम्भावना छ । कैदीले मतदान गर्न पाउने भएकाले ७४ कारागारमा पनि मतदानस्थल राखिनेछ । 
यसपटक म्यादी प्रहरीको तलब पनि बढेको छ । यसअघि २२ हजार ६ सय ८० रुपैयाँ तलब रहेकोमा यसपटक २६ हजार ८२ रुपैयाँ पाउनेछन् । यसका अतिरिक्त सम्बन्धित जिल्लाको दररेटअनुसारको रासनभत्ता पनि म्यादीले पाउनेछन् । उनीहरूलाई पोसाक, जुत्ता, लठीलगायत सामान खरिदमा यसअघि ६ हजार रुपैयाँ दिइएकोमा यसपटक आठ हजार प्रस्ताव गरिएको छ । मंसिरमा जाडो हुने भएकाले स्वेटरसमेत किन्नुपर्ने भएकाले यस्तो खर्च बढाइएको हो । त्यस्तै, यसअघि बाटो खर्च हजार रुपैयाँ दिइएकोमा यसपटक एक हजार पाँच रुपैयाँ दिइनेछ । 
स्थानीय चुनावमा एक लाख भर्ना गरिएका थिए, मतदानस्थल थपिने भएकाले यसपटक म्यादीको संख्या पनि बढाइयो
गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा एक लाख म्यादी प्रहरी भर्ना भएका थिए । स्थानीय निर्वाचनभन्दा करिब पाँच लाख मतदाता थपिने निर्वाचन आयोगले जनाएको छ । यसपटक सरकारी कर्मचारी तथा कैदीले पनि मतदान गर्न पाउने भएकाले मतदानस्थल र मतदान केन्द्र बढ्नेछन् । सोही आधारमा म्यादी प्रहरीको संख्या पनि बढाउने निर्णय भएको हो । 
एक उच्च प्रहरी अधिकारीका अनुसार मतदान केन्द्रमा चारवटा मतपेटिका हुने भएकाले पनि सुरक्षाकर्मी धेरै चाहिने अवस्था छ । यसपटक प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक, प्रदेश सभा प्रत्यक्ष र समानुपातिक गरी चारवटा मतपेटिका हुनेछन् । एक मतपेटिकाको सुरक्षामा कम्तीमा एक सुरक्षाकर्मी राख्ने गरिएको छ । स्थानीय तहको निर्वाचनमा कतिपय मतदानस्थलमा सुरक्षाकर्मी कम भएकै कारण समस्या भएको थियो । 

निर्वाचनमा खटिने प्रहरीको संख्या पनि बढ्ने

निर्वाचनमा खटिने नेपाल प्रहरीको संख्या पनि यसपटक धेरै हुनेछ । गत निर्वाचनमा ६२ हजार प्रहरी खटिएकोमा यसपटक ७२ हजार प्रत्यक्ष खटिनेछन् । स्थानीय तहको निर्वाचनका समयमा धेरै पद रिक्त रहेकामा हालै धेरै प्रहरी पासआउट भएकाले सुरक्षामा थप सहज हुने एक प्रहरी अधिकारीले बताए । निर्वाचनमा प्रमुख भूमिका नेपाल प्रहरीकै हुने तथा सेना र सशस्त्र प्रहरी पनि सहयोगी भूमिकामा खटिने गृहप्रवक्ता पोखरेलले बताए । 
गाडी किन्न ७५ करोड 

निर्वाचनका लागि गाडी किन्न सरकारले नेपाल प्रहरीलाई ७५ करोड रुपैयाँ दिने भएको छ । जसबाट एक सय ७० वटा गाडी किन्ने प्रहरीको तयारी छ । स्थानीय तह निर्वाचनमा प्रहरीले गाडी खरिदका लागि बजेट नपाएपछि भाडामा गाडी लिएको थियो । प्रहरीले करिब आठ सय गाडी किन्न बजेट मागेकोमा एक सय ७० किन्ने बजेट पाएको हो । छिटो प्रक्रियाबाट गाडी किन्ने प्रहरीको तयारी छ । नेपाल प्रहरीसँगै सशस्त्रलाई पनि गाडी खरिदका लागि बजेट छुट्याइएको गृह मन्त्रालय स्रोत बतायो । 
प्रहरीलाई १५ दिनसम्मको भत्ता 

निर्वाचनमा खटिने प्रहरीले १५ दिनसम्मको चुनाव भत्ता पाउनेछन् । जिल्लाभित्रै खटिनेले सात दिनको तथा जिल्लाबाहिर खटिनेले १३ दिनको पाउने गरी अर्थले बजेटको सुनिश्चितता दिएको छ । कतिपय दुर्गममा खटिनेको हकमा भने १५ दिनसम्मको भत्ता दिइनेछ । दैनिक भ्रमण भत्ताकै दररेटमा उनीहरूले चुनाव भत्ता पाउनेछन् । निर्वाचन आयोगका कर्मचारीलाई सरकारले चुनावको मिति घोषणा भएदेखि नै दोब्बर तलब दिने, तर दिनमा १८ घन्टासम्म खटिने प्रहरीलाई भने विभेद गरेको गुनासो छ । 

हतियार सेनासँग लिने

सेनाले चुनावअघि प्रहरीलाई इन्सास राइफल सहयोग गर्ने भएको छ । यसअघि पनि पटक–पटक सेनाले आफ्ना पुराना इन्सास राइफल प्रहरीलाई हस्तान्तरण गरेको थियो । त्यसबाहेक सेनासँग हजार थान पेस्तोल पनि प्रहरीले चुनावी सुरक्षाका लागि लिने भएको छ । प्रहरीले हतियार किन्ने प्रयास गरे पनि कमिसनको विवादमा मुछिएपछि सम्झौता गरेर पनि पछि रद्द गरेको थियो । 
दुई लाख ९० हजार सुरक्षाकर्मी परिचालन हुने 
नेपाल प्रहरी – ७२ हजार 
सशस्त्र प्रहरी –३० हजार 
नेपाली सेना – ७० हजार 
राअवि – २ हजार 
म्यादी प्रहरी – १ लाख १५ हजार 
४ मंसिरको निर्वाचनमा करिब दुई लाख ९० हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाल प्रहरी ७२ हजार, सेना ७० हजार, सशस्त्र प्रहरी ३० हजार र राष्ट्रिय अनुसन्धान विभागका दुई हजार कर्मचारी चुनावी सुरक्षामा खटिनेछन् । त्यस्तै, एक लाख १५ हजार म्यादी हुनेछन् । नेपाल प्रहरीले सम्हाल्दै आएका कारागार, विमानस्थललगायतको सुरक्षा जिम्मेवारी सेनालाई दिएर त्यहाँका प्रहरीलाई निर्वाचनमा खटाउने गृह मन्त्रालयको तयारी छ । स्थानीय तह निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेकोमा अब करिब पाँच सय थपिने सम्भावना छ । कैदीले मतदान गर्न पाउने भएकाले ७४ कारागारमा मतदानस्थल राखिनेछ । नयाँ पत्रीकाले उल्लेख गरेको छ।