काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन गर्ने ६ जना र ८ संस्थालाई स्पष्टीकरण सोधेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि लागु गरिएको निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गर्ने शीर्ष नेतासहित ६ जना र ८ संस्थालाई स्पष्टीकरण सोधेको सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका सातौं तहका अधिकृत गोकुल वस्ती र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सिके राउतलाई आयोगले स्पष्टीकरण सोधेको छ ।
यस्तै हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र प्रतिनिधिसभा सदस्य नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बद्री मैनालीलाई पनि स्पष्टीकरण सोधेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । इमेजले उल्लेख गरेको छ।