४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री ७७ वटै जिल्लामा पुगेका छन् । स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण मतदान गराउने गरी निर्वाचनको अन्तिम तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनसम्बन्धी सबै काम अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । ‘सबै निर्वाचन सामग्री जिल्ला र निर्वाचन क्षेत्र पठाइसकिएको छ । त्यहाँबाट कर्मचारीसहित मतदान केन्द्रमा पठाउन सुरु भइसकेको छ । मतदाता शिक्षा कार्यक्रम मतदाताको घरदैलोसम्मै पुगेको छ । सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ । आयोगको तयारी अन्तिम चरणमा छ,’ उनले भने ।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण मतदान गराउन आयोगले कुनै कसर बाँकी नराख्ने थपलियाको भनाई छ । संघ र प्रदेशको प्रत्यक्ष निर्वाचनका लागि आयोगले तीन करोड ९७ लाख ८९ हजार पाँच सय र समानुपातिकतर्फ चार करोड ६ लाख पाँच हजार मतपत्र छापेको थियो । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेका मतपत्र मतदान अधिकृतलाई हस्तान्तरण गरिनेछ ।
आयोगबाट ढुवानी भएर आइपुगेका निर्वाचन सामग्री ७७ वटै जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा पठाउन सुरु गरेका छन् । बुधबारदेखि दुर्गम र टाढाको क्षेत्रमा कर्मचारी र सुरक्षाकर्मीसहित सामग्री पठाउन सुरु गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।
आयोगले गत साता ७३ जिल्लामा एक सय ३२ वटा ट्रकबाट तथा हुम्ला, बाजुरा र डोल्पामा सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री पठाएको थियो । त्यसमा थप १५ प्रकारका सामग्री खरिदको जिम्मा जिल्ला निर्वाचन अधिकृतको कार्यालयले पाएका छन् । जिल्ला निर्वाचन कार्यालयहरूले एक सय ६५ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमार्फत २२ हजार दुई सय २७ मतदान केन्द्रमा कुल ७३ वटा निर्वाचन सामग्री पठाउन थालेको सहायक प्रवक्ता अर्यालले बताए । उनका अनुसार मतदानको ४८ घन्टाअघि १ मंसिरभित्र मतदान अधिकृतसहित निर्वाचन सामग्री र जनशक्ति सबै मतदान केन्द्रमा पुगिसक्नेछ ।
दिनमा १५ किलोमिटर दूरी हिँड्न सक्ने गरी बाटो म्याद राखेर कर्मचारीलाई तालिम दिएर पठाइन्छ । मौसम प्रतिकूलता भएमा आयोगले हेलिकोप्टरबाट मतदान केन्द्रमा पुर्याउने विकल्प पनि तयारी अवस्थामा राखेको छ । साथै मौसमअनुसार हिमाली र पहाडी क्षेत्रबाट तल झर्ने मतदाताका लागि आयोगले मतदान केन्द्र नै सार्न सकिने विकल्प पनि तयार रहेको सहायक प्रवक्ता अर्यालले बताए । – रासस