काठमाडौं । आसन्न निर्वाचन भयरहित वातावरणमा सम्पन गर्न सरकारले तयारी पूरा गरेको छ । सुरक्षा संवेनशिलतालाई ध्यानमा राखी गृह मन्त्रालयले विगतजस्तै यसपटकको निर्वाचनका लागि ३ लाख सुरक्षाकर्मी कार्यक्षेत्रमा पुगिसकेको जनाएको छ । प्रहरीले जिम्मेवारी निर्वाह गर्दै आएको अधिकांश ठाउँमा सेनाको उपस्थिति देख्न सकिन्छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्या चुनावमा खटिएपछि नेपाली सेनाले विमानस्थल, कारागार लगायत १०६ वटा महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा लिएको छ । सेनाले निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्ती लगायत निर्वाचन सम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने छ ।
यसैगरी पहिलो घेरामा रहने नेपाल प्रहरीले म्यादीको सहयोगमा सुरक्षा प्रदान गर्ने भएको छ । निर्वाचनका लागि करिब ७१ हजार ६९३ जनशक्ति तयार पारेको नेपाल प्रहरीले मतदान केन्द्र रहने स्थान वरपर र संवेदनशील क्षेत्रमा गस्ती थालिसकेको छ । यसैगरी सम्बन्धित जिल्लाहरुकमा डिएसपीको कमाण्डमा सुरक्षा फिल्ड रहेकोमा ११ हजार सुरक्षाकर्मी भने बाहिरी जिल्लामा खटिसकेका छन् ।
तेस्रो घेरामा रहने सशस्त्र प्रहरीले आगामी निर्वाचनका लागि ३५ हजार जनशक्ति परिचालन गरेको छ । निर्वाचन क्षेत्र बेशमा १ सय ६५ निर्वाचन क्षेत्रमध्ये प्रत्येक निर्वाचन क्षेत्रमा डिएसपीको कमाण्डमा खटेको छ ।
निर्वाचन मिति नजिकिंदै जाँदा केही सशस्त्र समुह र साना दलहरुले निर्वाचन बिथोल्ने गतिबिधि गर्ने निर्णय गरेपछि सरकारले प्रतिरक्षाको प्रबन्ध मिलाइसकेको जनाएको छ । गृह मन्त्रालयको निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रुपमा परिचालन भएका छन् ।
निर्वाचनका लागि उमेदवारी दर्ता भएसँगै चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित छन् । उनीहरुलाई १ लाख १५ हजार म्यादी प्रहरीले सघाउने छन् ।- इमेज