इराक युद्धसँग सम्वन्धित अमेरिकी सेनाका चार लाख गोप्य दस्तावेज चर्चित वेभसाइट विकी लिक्सद्वारा सार्वजनिक गरेको प्रति अमेरिकी सरकारको भत्सर्ना

चर्चित वेवसाइट विकी लीक्सले पूनः एक पटक अमेरिकी सेनासँग जोडिएको गोप्य दस्तावेज सार्वजनिक गरेको छ। यसपटक सो संस्थाले इराक युद्ध सम्वन्धी झण्डै चार लाख गोप्य दस्तावेज सार्वजनिक गरेको हो। शुक्रबार राति सार्वजनिक गरिएका यी दस्तावेजमा इराकी सेनामाथि गम्भिर आरोप लगाइएको छ।

 

दस्तावेजमा इराकी सैनिकले सर्वसाधारणमाथि दुर्व्यबहार गरेको अमेरिकी सैन्य कमाण्डरलाई जानकरी भए पनि यसलाई वेवास्ता गर्दै उनीहरुमाथि कुनै कारबाही नगरिएको दावी गरिएको छ। यसका साथै इराकी कैदीलाई बिद्युतिय सक दिनुका साथै उनीहरुमाथि गोली हान्ने घटनासम्म भएको ती दस्तावेजमा उल्लेख गरिएको छ ।

 

दस्तावेजमा सन् दुई हजार तीनमा इराकमा आक्रमणपछि अमेरिकी सैनिक चौकीहरुमा सयौं इराकी नागरिक मारिएको उल्लेख गरिएको छ। अमेरिकाले मारिएका नागरिकको रकेर्ड राख्ने गरेको पनि दस्तावेजमा उल्लेख गरिएको छ। तर, अमेरिकाले भने यस्तो कुनै कार्य नगरेको दावी गर्दै आएको छ। अमेरिकी आक्रमण भए यता इराकमा एक लाख नौ हजार मानिस मारिएको दस्तावेजमा उल्लेख गरिएको छ। मारिने मध्ये छैसठी हजार एकासी सर्वसाधारण रहेका छन्।

 

अमेरिकी सरकारले विकी लिक्सले गोप्य प्रतिवेदन सार्बजनिक गरेको प्रति भत्सर्ना गरेको छ। अमेरिकी सैनिक इतिहासमा यो नै सबै भन्दा ठूलो सूचना चुहावट हो। यसअघि विकी लिक्सले नै अफ्गानिस्तान युद्धका विषयमा हजारौं दस्तावेज सार्वजनिक गरेको थियो।