काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल आजबाट चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ ।
भारतीय प्रधधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानु भएको हो । उहाँ आज (बुधबार) दिउँसो १ बजे भारत प्रस्थान गर्नुभएको हो । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीहरूले बिदाई गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा द्विपक्षीय वार्ता गर्नुहुनेछ । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल हुनुहुन्छ । प्रधानमन्त्री दाहाल नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा विद्युत बिस्तार, विद्युतमा भारतीय लगानी प्रवद्र्धन, भारतसँग भएका सम्झौताहरुको कार्यान्वयन, सीमा विवाद, नाकाहरु सञ्चलन लगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेट गर्ने कार्यक्रम छ ।