काठमाडौं, २० जेठ । सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका ३ जनाको अवस्था अझै अज्ञात रहेको छ । शुक्रबार सानोठिमी भक्तपुरबाट खोटाङ जाँदैगरेको सिटीइभीटीको सरकारी बीएबी ७४६७ नम्बरको स्कारपीयो सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–६ स्थित् सुनकोशी नदीमा खसेको थियो ।
स्कारपीयोमा सवार ४ जनाहरूमध्ये चालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका थिए भने अन्य ३ जनाको अवस्था अझै अज्ञात रहेको सिन्धुली जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जीवी दाहालले रिपोर्टर्स नेपाललाई जानकारी दिए।
गाडीमा सवार सिटीइभीटीका सहसचिव कृष्णबहादुर केसी, योजना महाशाखाका निर्देशन यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक भानु पौडेलको अवस्था अज्ञात रहेको छ।
स्कारपीयो मध्यपहाडी लोकमार्गभन्दा करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको हो । स्थानीय र प्रहरीले उनीहरुको खोजी तीब्र बनाए पनि अझैसम्म अस्था पहिचान हुन सकेको छैन । उनीहरुको खोजीका लागि गोताखोर परिचालनको तयारी भइरहेको छ । कुरिन्टारबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा चार जना गोताखोरसहित ७ जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको बताईएको छ । – आर एन