काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा बयान चलिरहेको छ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा चलिरहेको बहस आइतबार पनि निरन्तर छ। जेठ २१ गतेदेखि जिल्ला अदालतमा बहस सुरु भएको थियो। इजलासले सुरुमै बहसको समय निर्धारण गरेका थियो। न्यायाधीश न्यौपानले सरकारी पक्षलाई ३ दिन र आरोपित पक्षका कानुन व्यवसायीहरुलाई ६ दिनको समय दिएका थिए।
सरकारी पक्षको बहस सकिएपछि बुधबारबाट प्रतिवादीका तर्फबाट बहस सुरु भएको थियो। इजलासले दिएको समय अब तीन दिनमात्र बाँकी रहेको छ।
आइतबार, सोमबार र मंगलबार प्रतिवादीका तर्फबाट बहस हुने छ। आइबार बहालवाला सचिव टेकनारायाण पाण्डेसहित बाँकी रहेका प्रतिवादीको तर्फबाट बहस गर्ने तयारी गरिएको छ।
सोमबार पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट बहस गर्ने तयारी उनको पक्षका वकालतानामा दिएका कानुन व्यवसायीको तयारी छ। खाणको पक्षमा बहस गर्ने १० भन्दा धेरै कानुन व्यवसायीले तयारी गरेका छन्। त्यस्तै शुक्रबार पूर्व उपप्रधानमन्त्री तथा एमालेका नेता टोपबहादुर रायमाझीका तर्फबाट बहस भएको थियो।
उनको तर्फबाट वरिष्ठ अधिवक्ता शुसिल पन्त र रमेश बडाल लगायतले बहस गरेका थिए। उनीहरुले रायमाझी निर्दोष भएकाले धरौटीमा रिहा हुनुपर्ने माग गरे। सरकारी वकिलको कार्यालयले पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाणसहित ३० जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो।
उनीहरुमाथि ठगी, संगठित अवराधसहित पाँच अभियोग दाबी गरिएको छ। शुक्रबार बहसको क्रममा पनि न्यायाधीश न्यौपानेले पटक पटक समय सीमा सम्झाएका थिए। उनले समय धेरै नभएकाले विषयवस्तुभन्दा बाहिर नगई बहस गर्न आग्रह पटक पटक गरेका थिए। मुद्दा हेर्दाहेर्दै राखेर सुनुवाइ चलिरहेको छ।
जिल्ला अदालतले बुधबारसम्म बहस टुंग्याउने तयारी गरेको छ। प्रतिवादीको बहसपछि सरकारी पक्षको जवाफ सुनेर इजलासले थुनछेक आदेश गर्ने छ। सबै प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा पठाएमा उनीहरु फैसला नभएसम्म जेलमा नै बस्नुपर्ने छ। यदि धरौटीमा रिहा गर्ने आदेश गरेमा अदालतले तोकेको रकम बुझाएर उनीहरु रिहा हुने छन्। यदि अदालतले पूर्पक्षका लागि थुनामा पठाएमा उनीहरुले त्यस विरुद्ध उच्च र सर्वोच्च अदालत जान पाउने छन्।