काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबारदेखि जारी प्रतिवादीहरुको प्रतिरक्षा बहस बिहीबार सकिएको छ।बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजाल तथा ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको पक्षमा वकिलहरुले बहस गरेका थिए।
उनीहरु तीनजनाको पक्षमा प्रतिरक्षा बहस सकिएसँगै अब शुक्रबार बिहानदेखि २ बजेसम्म सरकारी वकिलहरुले जवाफी बहस गर्ने भएका छन्।
उक्त जवाफी बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर रिहा गर्ने र साधारण तारेखमा छाड्ने गरी आदेश दिनेछन्।
यो प्रकरणमा हालसम्म १८ जना अभियुक्तहरु पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले यो प्रकरणमा दुईजना भीआईपी नेताहरुसहित ३० जनाविरुद्ध विभिन्न शीर्षकमा मुद्दा अघि बढाएको थियो।जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधहितका मुद्दा जिल्ला अदालतमा दर्ता गराएको छ।