शुभकालिका गाउँपालिकामा बालविवाह रोक्न सम्मेलनमा सहभागी धामीझाँग्री । तस्विर : प्रेमराज सिम्खडा
कालीकोट, असार २ गते । कालीकोटमा बालविवाह रोक्न विभिन्न समाजिक सचेतीकरणका कार्यक्रम भएका छन् । आज शुभकालिका गाउँपालिकामा बालविवाह विरुद्धको प्रथम धामीझाँक्री तथा पुरोहित सम्मेलन गरिएको छ । विवाहका लागि स्थानीयले लगन हेराउन धामीझाँक्री र पुरोहितकोमा जाने गर्छन् ।
धामिझाँक्रीको सल्लाहमा विवाहको साईत पार्ने भएकाले उनीहरुलाई बालविवाह विरुद्धको अभियानमा लगाउन सम्मेलनको आयोजना गरेको बताईएको छ । गाउँमा धामीझाँक्री र पुरोहितहरुको बढी विश्वास गर्ने भएकाले उनीहरुलाई नै बालविवाह विरुद्धको अभियानमा परिचालन गर्न सम्मेलन गरिएको हो । बालवालिकाको क्षेत्रमा काम गरिरहेको सेभःद चिल्ड्रेन किर्डाक नेपाल सहयात्रा परियोजनाको सहयोग र गाउँपालिकाको आयोजनामा सम्मेलन गरिएको छ ।
शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यलले गाउँपालिकाले उमेर पुगि विवाह गर्ने जोडीलाई पुरुस्कारको व्यवस्था गर्दा समेत बालविवाह लुकिछिपी हुने गरेकाले धामिझाँक्रीलाई समेत परिचालन गर्न सम्मेलन गरेको बताउनुभयो । उहाँले सम्मेलन मार्फत् धामीझाँक्र्रीको नयाँ समिति गठन हुने र त्यसै मार्फतु बालविवाह विरुद्धको अभियान चलाउने बताउनुभयो ।
शुभकालिका गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यले शिक्षित समुदाय समेत धामीझाँक्री र पुरोहितको भरमा पर्ने हुदा अब बालविवाह रोक्नका लागि उत्तम उपाय भनेकै धामीझाँक्री परिचालन गर्ने निचोडमा आफूहरु पुगेर यो सम्मेलनको आयोजना गरेको बताउनुभयो । सहयात्रा परियोजनाका बालअधिकार अधिकृत प्रकाश वहादुर शाहीले पालिका र आफूहरुको लामो समय सम्मको छलफलपछि बालविवाह विरुद्धको अभियानमा पुरोहित र धामीझाँक्रीलाई सहभागी गराएको बताउनु भयो ।गोरखापत्रले उल्लेख गरेको छ।