प्रजातन्त्र प्राप्तीको आशा नछाड्न आफ्ना समर्थकलाई म्यान्मारकी प्रजातन्त्रवादी नेतृ सुकीको आह्वान


 

म्यान्माकी प्रजातन्त्रावादी नेतृ आङ साङ सुकीले प्रजातन्त्र प्राप्तिको आशा नछाड्न समर्थकहरुलाई आह्वान गरेकी छन्। करिव दुई दशक लामो बन्दी जीवनबाट शनिबार मुक्त भएपछि आफ्ना दशौं हजार समर्थकलाई पहिलो पटक सम्बोधन गर्दै सुकीले प्रजातन्त्र स्थापनाको मागलाई पुनः दोहोर्‍याइन्।

 

पन्ध्र वर्ष लामो गृह नजरबन्दबाट मुक्त भएको एक दिनपछि रङ्गुनस्थित आफ्नो पार्टी मुख्यालयमा उपस्थित कार्यकर्ताहरुलाई सम्बोधन गदर्ैै कमजोर मुटु पार्नु पर्ने कुनै कारण नभएको बताइन्। म्यान्माको सैनिक सरकारले शान्तिका लागि नोवेल पुरस्कार विजेता सुकीलाई शनिबार मुक्त गरेको थियो। सुकीको रिहाइलाई विश्वका प्रमुख नेता तथा मानवअधिकारबादीहरुले स्वागत गरेका छन्।

 

सुकी आफ्नो पार्टीको मुख्यालय पुग्दा उनको कारलाई समर्थकहरुको भिडले घेरेको थियो। सुकीको प्रतिक्षामा रहेका समर्थकहरुको भिडले वि लभ सु अर्थात् हामी सुकीलाई माया गर्छौं भन्दै नारावाजी गरेका थिए। आफ्नो सम्बोधनका क्रममा सुकीले देशमा राष्ट्रिय एकताका लागि काम गर्न आह्वान गरेकी छन्। जनताको सहभागिता विना कुनै पनि कुरा प्राप्त नहुने उनको भनाइ थियो। आफूलाई बन्दी बनाउनेहरु प्रति कुनै नराम्रो भावना नरहेको बताउँदै सुकीले आफूलाई राम्रो ब्यवहार गरेको र बाँकी राजनीतिक बन्दीहरुलाई पनि त्यस्तै ब्यवहार गर्ने आशा ब्यक्त गरिन्। म्यान्माको सैनिक सरकारले आयोजना गरेको आम निर्वाचनमा सैनिक सरकार समर्थित दलले भारी बहुमतले विजय भएको घोषणा गरिएको छ दिनपछि सुकीलाई रिहा गरिएको हो।

 

सन् उन्नाइस सय नब्बेमा म्यान्मामा भएको चुनावमा सुकी नेतृत्वको नेशनल लिग फर डिमोक्र्यासीले भारी बहुमत प्राप्त गरेको भएनि तत्कालिन सैनिक सरकारले चुनावी नतिजालाई अस्वीकार गर्दै सूकीलाई जेल चलान गरेको थियो। पश्चिमा सरकारहरुले सुकीको रिहाइ पछि अन्य राजनीतिक बन्दीहरुलाई पनि रिहा गर्न सैनिक सरकारसँग आग्रह गरेका छन्।