काठमाडौं । वीर अस्पतालमा शुक्रबार (आज)देखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले शुक्रबारदेखि बिरामीका लागि ७ सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताउनुभयो । डा. पौडेलका अनुसार अस्पतालले ७ सय साधारण शय्या निःशुल्क गरिएको छ ।
मन्त्रालयको पहलमा शय्यावापत आउने पैसाको सोधभर्ना गर्ने गरी सर्वसधारणका लागि निःशुल्क गरिएको निर्देशक डा. पौडेलले जानकारी दिनुभयो ।
यसअघि प्रतिदिन रु. २ सय शय्यामा शुल्क लाग्ने गरेको थियो । अस्पतालमा क्याविन, सघन उपचारकक्ष (आइसीयू) गरी ९ सय ६० शय्या रहेका छन् ।