काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले अब अनलाइनबाटै पार्टी सदस्य दिने भएको छ। कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
अब कांग्रेसको सदस्य बन्न चाहने नेपाली नागरिकले पार्टीको वेबसाइट मा गई आवेदन दिन र सदस्यता शुल्क बुझाउन सक्ने भएका छन्।
त्यसका लागि सदस्यता फारम भरिसकेपछि मोबाइल फोनमै जानकारी आउने बनाइएको छ। आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरि अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड दिइने भएको छ।
यसअघि कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएको थियो। अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनसक्ने भएको छ।