-कल्पना घिमिरे
काठमाडौं– आर्थिक वर्ष (२०७९/०८०) मा १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो। सो क्षेत्रमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
जुन अघिल्लो वर्ष (२०७८/०७९) भन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिक टनले धेरै हो। अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा कूल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको थियो। सो वर्ष ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो।
प्रतिहेक्टर उत्पादकत्व ३.७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गत वर्षको भन्दा ६.९४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी दिए। तर धान रोपाइँ क्षेत्र भने २० हजार हेक्टर घटेको पाइएको छ। सामान्य रुपमा वर्षेनि धान क्षेत्र घट्दै गए पनि उत्पादकत्व बढेकाले उत्पादन भने बढ्दै गएको प्रवक्ता सञ्जेल बताउँछन्।
‘अहिले धान रोपाइँ क्षेत्र धेरै घटेको छैन। सामान्य रुपमा घटेको देखिन्छ। रोपाइँ क्षेत्र सामान्य रूपमा घटे पनि उत्पादकत्व बढ्दा उत्पादन बढी देखिन्छ। उत्पादन बढ्नुमा विभिन्न प्रविधि भित्रिनु तथा उन्नत जातको बिउ प्रतिस्थापन दर बढ्नु रहेको छ। सबैतिर उन्नत जातको बिउ लाग्दैन। तराई क्षेत्रमा भने हाइब्रिड जातको धानको बिउ प्रयोग गर्दा उत्पादन बढेको छ,’ उनले भने।
साथै मन्त्रालयले धानको बिउ उन्नत जातको र स्थानीयस्तरको रैथाने जातको धानलाई उत्तिकै प्रोत्साहन गरेको सञ्जेलले बताए। ‘सिमित जिल्लाहरुमा हाइब्रिड जातको बिउ लाग्दैन। त्यहाँ रैथाने जातको धान खेती हुन्छ भने तराईका जिल्लामा हाइब्रिड जातको धान हुने हो,’ उनले भने।
वर्षैपिच्छे बिउ परिवर्तन गर्दा खर्च बढ्ने
हाइब्रिड जातको धानको बिउ एकपटक लगाइसकेपछि पुन: बिउको रूपमा प्रयोगमा नआउने र वर्षैपिच्छे परिवर्तन गर्नुपर्दा खर्च बढ्ने सञ्जेलले बताए। बाहिरी मुलुकबाट आयात गर्दा खर्च बढ्ने भएपछि नेपालमै हाइब्रिड बिउ उत्पादन गर्न थालेको उनको भनाइ छ।
‘बढी क्षेत्रमा हाइब्रिड जातको बिउ लगाइन्छ। यो सबै आयात गर्नुपर्दा बर्सेनि ठूलो परिमाणमा रकम बाहिरिन्छ। आयात रोक्न यस्तो प्रकारको बिउ हामीले आफैं विकास गरिरहेका छौं। त्यसका लागि हामीले आफ्नै उन्नत जातको धानको बिउ उत्पादन गर्ने कार्यक्रम पनि अगाडि सारेका छौं,’ उनले भने।
हाइब्रिड जातको बिउ अहिले थोरै मात्रामा स्वदेशी उत्पादन भएकाले आयात गरेरै धान्नु परेको उनले बताए। यस्तै केही वर्षपछि त्यस्तो बिउ आवश्यकताअनुसार नेपालमै उत्पादन गरिने उनको भनाइ छ। यस्तै उन्नत जातको बिउ रोपिने हुँदा यो वर्ष पनि धान उत्पादन बढ्ने सञ्जेलले दाबी गरे।
धानको सरकारी तथ्यांक पत्याउन मुस्किल
कृषि विज्ञ डा कृष्ण पौडेलले चालु आर्थिक वर्षको धान उत्पादनको सरकारी तथ्यांक पत्याउनै मुस्किल रहेको बताए। ‘गत साल होइन मल अभाव भएको? मल अभाव हुँदा उत्पादन बढ्छ भने किन मल चाहियो। मन्त्रालयले कहाँ कसरी लेखाजोखा गर्यो? धान बढ्यो भनेर कसरी पत्याउने सरकारी तथ्यांक?,’ उनी प्रश्न गर्छन्।
तीन लाख मेट्रिक टन धान बढ्नु ठूलो परिमाण नभएको उनको भनाइ छ। ‘धानको बिउ उत्पादन हुँदा स्वभाविक रुपमै उत्पादन त बढ्ने नै भयो। तर क्षेत्रफल गट्दा उत्पादन बढ्यो भन्नु गलत कुरा हो। क्षेत्रफल घटेर १४ लाख ५० हजार हेक्टरमा झरिसक्यो। यो पहिला ३० लाख हेक्टर सम्ममा धानखेती हुन्थ्यो। आधाभन्दा बढी घटिसक्यो,’ उनले भने, ‘पोहोर तीन लाख मेट्रिक टन उत्पादन बढ्यो भनेर सरकारले दाबी गरेको छ। त्यो धेरै हो जस्तो मलाई लाग्दैन। उत्पादकत्व बढेको छैन, उत्पादन र उत्पादकत्व फरक कुरा हो। उत्पादन भनेको कति मेट्रिक टन फल्यो भन्ने हो भने उत्पादकत्व भनेको प्रतिहेक्टर कति धान फल्यो भन्ने हो।’
उत्पादकत्व गएको ६० वर्षमा १.३ बाट ३.८ भएको छ। ६० वर्षमा २.५ ले बढेको छ, जबकी अहिले चीन, जापानलगायत अरु देशको १२,१५,१६ सम्म पुगिससकेको उनी बताउँछन्। नेपालको उत्पादकत्व ३.८ मात्रै छ। कुनै कुनै ठाउँमा साना किसानको मिहेनतले उत्पादन बढेको उनको भनाइ छ।
रैथाने धान मासिने डर
हाइब्रिड लगाउँदा गाँज धेरै आउने, बाला धेरै लाग्ने खालको बनाइने हुँदा उत्पादन बढ्ने भए पनि रैथाने जातको धान मासिँदै जाने कृषि विज्ञ पौडेलको भनाइ छ। रैथाने जातको धान लगाएको नजिकमा हाइब्रिड जातका धान लगाउँदा परागसेचन भएर रैथाने धान ठिमाहा निस्किँदा मासिने बताए। यस्तै किसानले जुन बिउ बढी उत्पादन दिन्छ त्यहि बिउ रोप्ने गर्नाले पनि रैथाने धान मासिने उनको भनाइ छ।
‘यो धान आफैंमा फूल खेल्छ र आफैंमा आन्तरिक परागसेचन हुने गर्छ। तर, आडैमा अर्को धान लगाएको छ भने कहिलेकाँहि परागहरु हावा, किराफ्ट्याङ्ग्राले उडाउँदा क्रस पनि हुन्छ। क्रस भएका उदाहरण थुप्रै छन्। यसरी क्रस भएर रैथानेलाई असर गर्छ, ठिमाहा बन्छ। र अर्को कुरा हाइब्रिड धेरै उत्पादन दिने, रोग नलाग्ने, गाँज धेरै लाग्ने र बाला धेरै लाग्ने भएकाले किसानले रैथाने छाडेर हाइब्रिड लगाउन थाल्छन्। त्यसपछि रैथाने जातको धान मासिने डर हुन्छ,’ उनले भने।
कति आयो धानको बिउ?
चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्ममा ७५ करोड ६३ लाख ८६ हजार रुपैयाँको १,८८२.९८ मेट्रिक टन धानको बिउ आयात भएको केन्द्रीय भन्सार विभागको तथ्यांकले देखाउँछ। यस्तै गत आर्थिक वर्ष (२०७८/०७९ मा ८७ करोड ५ लाख ९२ हजार रुपैयाँको ५,४६,६३३.९४ मेट्रिक टन बिउ आयात भएको थियो।
आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब १७ करोड ३८ लाख ६८ हजार रुपैयाँको ४५,२८४.६१ मेट्रिक टन बिउ आयात गरेको थियो। आर्थिक वर्ष २०७६/७७ मा ७ करोड ८८ लाख ३ हजार रुपैयाँको २,१९१.०१ मेट्रिक टन बिउ आयात गरेको विभागको तथ्यांकमा उल्लेख छ।नेपालभ्युले उल्लेख गरेको छ।