काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी तीव्र बनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
अहिले बोर्डको बैठक पनि बोलाइएको छ । बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने बोर्डका एक सदस्यले बताए ।
उनले भने, ‘सम्भवतः आजै बेलुकीसम्म नतिजा आउँछ । केही समस्याले रोकिए भोलि बिहानै नतिजा सार्वजनिक हुन्छ ।’
यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ । बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो। बोर्डले २०७८ सालमा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो। उक्त निर्देशिका जारी भएको केही महिनापछि पहिलो पटक संशोधन गर्दै सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो ।