काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रितम सिंहको किताब विमोचन कार्यक्रममा बोलेको भाषा प्रधानमन्त्रीको जस्तो नभएको स्वीकार गरेका छन्।
प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भविष्यमा यस्ता विषयमा सतर्क रहने बताए।
‘किताव विमोचन कार्यक्रममा मेरो भाषा प्रधानमन्त्रीको रुपमा जसरी बोल्नुपर्थ्यो त्यसरी नभएको मैले रियलाइज गर्दै, भविष्यमा तपाईंहरुले गराएको ध्यानाकर्षणप्रति सतर्क रहने विश्वास गर्दछु।’ प्रचण्डले भने।
कार्यक्रममा प्रचण्डले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली–काठमाडौं दौडधूप गएको बताएपछि विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका थिए। प्रमुख तीन दलबीच आइतबार नै संसद चल्ने सहमति भए पनि प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा लगाइएको आरोप पनि फिर्ता लिनुपर्ने एमालेले अर्को अडान लिएपछि बैठक रोकियो। सोमबार जवाफ दिने क्रममा प्रधानमन्त्रीले त्यस विषयलाई पनि समेटे ।
‘राष्ट्रको बृहत्तर हित, सार्वभौम संसदको गरिमा, र जनताको सामूहिक विवेकमाथि मेरो पूर्ण निष्ठा दोहोर्याउन चाहन्छु। यो स्पष्ट सोचका बाबजुद मैले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेको भाषाबाट पर्न गएको असहजताप्रति दुःख व्यक्त गर्न चाहन्छु।’ उनले भने, मेरो मनसाय कसै प्रति अनादर वा कसै प्रति आरोप प्रत्यारोप गर्ने नहुँदा नहुँदै पनि यसअघिका कतिपय टिप्पणीहरू, वक्तव्यहरूमा देखिने त्यस्ता भावहरुका निम्ति पनि म सम्मानित सदन समक्ष दुःख व्यक्त गर्न चाहन्छु । बिगतमा जति टिप्पणी भए, वक्तव्यहरु भए तिमा प्रयोग भएका भाव भाषा सबैभन्दा यो पछिल्लो र आधिकारिक हो ।’
उनले प्रतिपक्षले भन्दैमा आफूले खुरुक्क राजीनामा नदिने पनि बताए।
‘यसअघि दुवैपटक मैले नैतिकताको धरातलमा टेकेर प्रधानमन्त्रीबाट राजीनामा दिएको हुँ, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्षित गर्दै, प्रचण्डले थपे,तपाईंले भनेर म गर्न सक्दिनँ मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिनँ ।’