काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदैछ ।
यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ ।
अघिल्लो वर्ष साउनमा बैठक बसेपछि केन्द्रीय समिति बैठक अझै बस्न सकेको थिएन, झन्डै एक वर्षपछि बस्न लागेको उक्त बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ संगठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्नविचार गरिने भएको छ ।
गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको अजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।
यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ । साथै, संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।