काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी उच्च अदालत पाटन पुगेका छन् । गत शुक्रबार पूर्व उपप्रधानमन्त्री रायमाझी र आइतबार खाण काठमाडाैं जिल्ला अदालतको निर्णयविरुद्ध अदालत पुगेका हुन् ।
उनीहरू जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरुद्ध अदालत आइपुगेको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् । कैफियत प्रतिवेदन माग गर्ने निर्णय भएको उनले बताइन् । कैफियत प्रतिवेदन आएपछि थप प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।
उनका अनुसार जिल्लामा चलिरहेको मुद्दाविरुद्ध आउने आदेशलाई कैफियत प्रतिवेदन भन्ने गरिएको छ । विभिन्न समयमा यस्ता मुद्दा विरुद्ध आउने आदेशलाई कैफियत प्रतिवेदन भनेर बुझ्नुपर्ने हुन्छ । हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा परी थुनामा रहेका अन्य १३ जना पनि अदालत पुगिसकेका छन् ।
आङतावा शेर्पा, नरेन्द्र केसी, गोविन्द चौधरी, सानु भण्डारी, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, डा. इन्द्रजित राई, आशिष बुढाथोकी, सन्देश शर्मा, शमसेर मियाँ, टेकनारायण पाण्डे, सन्दिप रायमाझी र सागर राई काठमाडौँ जिल्ला अदालतको निर्णयविरुद्ध पुगिसकेका छन् । भुटानी मानवअधिकार्मी नेता टेकनाथ रिजाल भने अहिलेसम्म नपुगेको शाहीले जानकारी दिइन् ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौँले गएकाे असार १ गते थुनामा पठाउन आदेश दिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरू सहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो । आरोपितहरूमध्ये लक्ष्मी महर्जन र टंक गुरुङलाई मात्रै धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो ।
नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जेठ १० गते ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।