काभ्रेका २१ वर्षीय राजकुमार गौतम नेपालकै कान्छा प्रधानाध्यपक बने

काभ्रेपलाञ्चोक। काभ्रेको ढुंखर्क गाविस-३ का २१ वर्षीय राजकुमार गौतम नेपालकै कान्छा प्रधानाध्यपक बनेका छन् । २०४५ साल फागुन २२ गते जन्मेका गौतम ढुंखर्क गाविस-२ स्थित कृष्णगोपाल माविको प्रधानाध्यपक बनेका हुन् ।


नेपालमा २१ बर्षकै कलिलो उमेरमा प्रधानाध्यपक बन्ने उनी नै नेपालको एक मात्र व्यक्ति भएको शिक्षा क्षेत्रका कार्यरत व्यक्तिहरुको भनाइ रहेको छ । विद्यालयमा कार्यरत शिक्षक/शिक्षिकाहरुको बैठकबाट गौतमलाई प्रधानाध्यापक बनाउने निर्णय भएपछि विद्यालय व्यवस्थापन समितिको सिफारिसमा बुधबारदेखि उनी प्रधानाध्यापकमा चयन भएका हुन् ।


गौतमलाई पढाउने शिक्षकहरु समेत उक्त विद्यालयकै शिक्षक भएपनि उनको सक्रियता र क्रियाशिलतालाई हेरेर विद्यालयको प्रधानाध्यापकमा छनोट गरिएको विद्यालयका पूर्व प्रधानाध्यापक सिताराम तिमल्सिनाले बताएका छन् । गौतमलाईर् जिल्ला शिक्षा कार्यालय काभ्रेले प्रधानाध्यापको रुपमा कार्य गर्न चिठी समेत प्रदान गरेको छ ।