काठमाडौँ । आज देशको सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर पूर्ण बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
साथै सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा तीन दिनदेखि नेपालनजिक अवस्थित छ ।
वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।