काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको छ ।
बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको हो । उहाँले जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरु संगठित भएर सरकारको अभियान असफल गर्न लागेका बताउनुभयो ।
मन्त्री श्रेष्ठले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पार्नुभयो । उहाँले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइ छाड्ने बताउनुभयो । मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक पार्टीहरुले सहमति कायम गर्नुपर्ने बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई देशको विकासको आधार मानेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले ध्यान पुर्याउने पनि बताउनुभयो ।