काठमाडौं । आज विश्व मुटु दिवस । विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटु रोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो ।
मुटु एउटा सानो पम्पजस्तो अंग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो ।
हामीले मुटु रोग भन्दै गर्दा हृदयाघात बुझ्नु पर्दछ । यो रोग ठूलो भएपछि लाग्ने होइन, यो देखा पर्दा मानिस ठूलो भइसकेको हुन्छ ।
सन् १९९९ मा विश्व मुटु संगठन र विश्व स्वास्थ्य संघको संयुक्त प्रयासमा विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो ।
सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ ।
मुटु रोग लाग्ने कारक तत्त्वहरू के हुन् ?
यी कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । कारक तत्त्वमध्ये केही गर्न नमिल्ने एउटै कुरा छ त्यो हो वंशाणुगत आउने कारक तत्त्व। यो हाम्रो हातमा निर्भर गर्दैन, बाँकी सबै हामी आफैँ नियन्त्रण गर्न सक्षम छौँ ।
के गर्ने ?
कमसेकम वर्षको एक पटक डाक्टरको सल्लाह लिएर आफ्नो स्वास्थ्यबारे जानकारी लिने गरौँ र कुन कुन कारण तत्त्वलाई ठीक अवस्थामा राख्नु छ, त्यसमा ध्यान दिने गरौँ ।
चुरोट रक्सीको सेवन नगरौँ, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राखौँ, तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने गरौँ, अनावश्यक तनाव लिने, लोभ लालचमा नफसौँ, फलफूल खाने बानी बसालौँ । आफ्नो मुटु स्वस्थ राखौँ ।