सन्धिखर्क, अर्घाखाँची- अपाङले केहि गर्न सक्दैनन् भन्ने मान्यता विपरित अर्घाखाँची जिल्लाका अपाङले सपाङले गर्न नसकेको काम गरेर उदाहरणीय बनेका छन् । जिल्लाको सदरमुकाम सन्धिखर्कका अतिरिक्त गाउँ-गाउँमा बस्ने अपाङले एउटा न एउटा व्यवसाय संचालन गरेर समाजमा स्थापित बनेका हुन् ।
जिल्लाका अपाङहरुले विद्यालयमा पढाउने सरकारी कार्यालयमा नोकरी व्यापार होटल-रेष्टुरेन्ट संचालन पोल्टी फर्म संचालन तरकारी खेती पशुपालन रेडियोमा कार्यक्रम संचालन गर्नुका साथै सामाजिक संघ-संस्थामा समेत काम गर्ने गरेका छन् । अपाङले पनि सपाङले जस्तै काम गर्न थालेपछि जिल्लामा अपाङलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउन थालेको छ । अपाङले केहि पनि काम गर्न सक्दैनन् भनेर गिज्याउनेहरुले पनि अहिले मानिसमा इच्छा शक्ति भएमा असंभव भन्ने केही नहुने बताउन थालेका छन् ।
सन्धिखर्क- ६ का दृष्टिविहीन शोभाखर वाग्लेलाई वाल्यकालमा आफ्नो आमाले यो छोराले दुःख पाउने भयो कसरी ज्यान पाल्ला भन्ने पिरलो छ भनेर छिमीकीहरुसँग दुखेसो गरेको अहिलेसम्म सम्झना छ । आमाको भनाइले मन छोएका वाग्ले अहिले युवा वर्ष रवि चित्र जनता मावि हटारीनेटामा माध्यमिक तहको शिक्षक बनेर अध्यापन गर्दै आएका छन् ।
सामुदायिक रेडियो अर्घाखाँचीमा अपाङ आवाज कार्यक्रम संचालन गर्ने वाग्ले कुशल कार्यक्रम प्रस्तोता मानिन्छन् । आफ्नी श्रीमती समेत अपाङ रहेको बताउने वाग्लेले बाख्रा पालनबाट पनि आम्दानी गरेको बताए । आँखाले नदेखे पनि एकपटक सुनेको कुरा कहिल्यै नविस्रने उनको विशेषता छ । सन्धिखर्क ७ का दृष्टिविहीन लिलबहादुर मुखियालॆ पनि घरमै बसी बसी मासिक १२ हजार देखि १५ हजारसम्म आम्दानी गरेको बताउँछन् । छिमेकका साथीहरुले ज्याला मजदुरी र विदेशमा गएर काम गरी परिवारको खर्च चलाउँदा आफू कमजोर संझिएका उनले घरमै ३ सयदेखि ५ सयसम्म बोइलर कुखुरा पालन गरी राम्रो आम्दानी गरेका छन् । मुखियाले बंगुरपालन समेत सुरु गरेको बताए । केही गर्छु भन्ने आँट भए असंभव भन्ने कुरा केही छैन उनको भनाइ छ ।
वाग्ले र मुखिया मात्र होइन विभिन्न व्यवसाय गरेर राम्रो आम्दानी गर्ने अपाङको संख्या अर्घाखाँचीमा दर्जनौं छन् । अरुले गरेको दया माया र सहयोगभन्दा आफूले गरेको मेहेनेत र परिश्रमको कमाई निकै लाभदायक हुने उनीहरुको विश्वास छ । शारीरिक रुपमा अपाङ रहेका बल्कोटका फसु्रराम पाण्डेले १० वर्षदेखि सन्धिखर्कमा हॊटल व्यवसाय संचालन गर्दै आएका छ । भारी काम गर्न नसक्ने भएकाले होटल संचालन गरे निक्कै राम्रो फाइदा भएको छ उनले बताए । पाण्डेले खर्च कटाएर वर्षमा १, २ लाख रुपैंयाँ बचत हुने गरेको बताए । राज्यले अपाङहरुलाई राहत होइन स्वोरोजगारीका विशेष कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ । शारीरिक रुपमा सवल र सक्षम लाखौं नेपाली युवाहरु स्वदेशमा रोजगारी भएन भन्दै खाडी मुलुकमा धाएर कठिन काम गरी रहेको अवस्थामा यहाँका अपाङले गरेको कामले मेहेनेत गर्नेहरुका लागि स्वदेश नै उपयुक्र्त भएको देखाउँछ ।
काम गर्न इच्छा हुँदा पनि आर्थिक अभावमा व्यवसाय संचालन गर्न नपाएका अपाङहरुलाई राज्यले सस्तो व्याजमा बिनाधितो ऋण उपलब्ध गराएमा आफूहरुले नमुना योग्य काम गरेर देखाउने अपाङहरुको भनाइ छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले अपाङहरुका लागि भनी जिल्लामा लाखौं रुपैंयाँ खर्च गर्दा अपाङ्गहरुले भने थोरै पनि राहत पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले अपाङ्गहरुको नाममा एनजिओ र आईएनजिओहरु मोटाउने काम गरेको भन्दै अपाङहरुका अवस्था हेरी सरकारले सिधै आर्थिक सहयोग गर्नुपर्ने बताएका छन् ।
Credits: “Radio Arghakhanchi”
Radio Arghakhanchi contributed to this report.