पत्रकार किशोर पन्थीको पहिलो पुस्तक 'कम्पन' विमोचन हुने

पत्रकार किशोर पन्थीको पहिलो पुस्तक 'कम्पन' विमोचन हुने
अर्घाखाँचीडट्कम संवाददाता 

काठमाडौं ।  पत्रकार किशोर पन्थीले आफ्नो पहिलो पुस्तक 'कम्पन' विमोचन गर्दैछन् । वैशाख १० गते विमोचन गर्न लागिएको सो पुस्तकमा २०७२ सालमा गएको विनासकारी भूकम्पपछिका  वास्तविक घटनाक्रमहरुलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ ।  

पुस्तकको तीन पुर्वप्रधानमन्त्रीहरुले संयुक्त रुपमा विमोचन गर्दैछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र नेकपा एमालेका नेता माधव नेपालले संयुक्त रुपमा पुस्तक विमोचन गर्ने तय भएको पन्थीले जानकारी दिए। 

विशेषत: भूकम्पपछि भोग्नुपरेको समस्या, गर्नुपरेको संघर्ष, विपतका बेला जीवनको अर्थ, आशा र नयाँ सुरुवात लगायतका विषयवस्तुलाई मर्मस्पर्षी रुपमा पुस्तकमा समेट्ने कोशिस पन्थीले गरेका छन् । पछिल्लो समय अमेरिकामा बसेर खोज पत्रकारितामा संलग्न पन्थीले आफ्नो पुस्तकको विमोचन भने नेपालबाटै गर्दैछन् । 

न्युयोर्कबाट प्रकाशन हुने खसोखास साप्ताहिकका प्रधान सम्पादक समेत  रहेका पन्थी अमेरिकाको विदेश मन्त्रालयबाट मान्यता पाउने पहिलो नेपाली पत्रकार समेत हुन् । विशेषगरी उनले अमेरिकी अध्यागमन, नेपाली समुदायका मुद्दाहरु, एवं सामाजिक विषयमा कलम चलाउँदै आएका छन् ।