काठमाडौं उपत्यकामा भूकम्पपछिको लगत संकलन अझै एक हप्ता पछि मात्र सुरु हुने

काठमाडौं उपत्यकामा भूकम्पपछिको लगत संकलन अझै एक हप्ता पछि मात्र सुरु हुने भएको छ । 

यही असार १ गतेदेखि लगत संकलन सुरु गर्ने भनिए पनि बजेटको अभावमा सुरु गर्न नसकिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

यसअघि विभागले गत जेठ दोस्रो सातादेखि नै लगत संकलन सुरु हुने बताएको थियो । अति प्रभावित १४ जिल्लामध्ये ११ मा लगत संकलन सम्पन्न भए पनि काठमाडौं, ललितपुर र भक्तपुरमा अझै सुरु नहुँदा यहाँका भूकम्पपीडितले वर्षा अगावै आवास निर्माणका लागि अनुदान नपाउने भएका छन् । 

भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका घरधनीले विभागको लगत संकलनपछि मात्र दुई लाख रुपैयाँ अनुदान किस्ताबन्दीमा पाउने व्यवस्था छ । 'विश्व बैंकले लगत संकलनका लागि सहयोग गर्ने वचन दिएकाले एक हप्तापछि सुरु हुनेछ । लगत संकलनमा संलग्न हुने इन्जिनियर र सामाजिक परिचालकलाई तालिम दिने तयारीमा छौं, भूकम्पका समयमा गृह मन्त्रालयले संकलन गरेको लगत पनि मगाइरहेका छौं, उपत्यकाका १५ वटा नगरपालिकाको प्राप्त भएको छ, सातवटा प्राप्त हुन बाँकी छ,' उनले भने । 

काठमाडौंमा एक महानगरपालिका, १० नगरपालिका, भक्तपुरमा छ नगरपालिका, ललितपुरमा एक उपमहानगरपालिका, चार नगरपालिका र १९ गाविस छन् । उपत्यकामा लगत संकलन सुरु भएको एक महिनामा काम सम्पन्न हुने विभागले जनाएको छ । कान्तिपुरमा समाचार छ ।  

अन्य समाचारहरु