समग्र मधेस एक प्रदेश हुनुपर्ने माग गर्दै सप्तरीमा मशाल जुलुस प्रदर्शन

 
- जितेन्द्र खड्गा
 
राजविराज  - समग्र मधेस एक प्रदेश हुनुपर्ने माग गर्दै आन्दोलनरत मधेस जनाधिकार फोरम नेपालले शुक्रबार साँझ सप्तरी सदरमुकाम राजविराजमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

स्थानीय प्रशासनले सदरमुकाम क्षेत्रभित्र मसाल जुलुश प्रदर्शनमा रोक लगाए पनि फोरमले त्यसलाई चुनौती दिएको हो । यसअघि आन्दोलनरत नेपाल मलाह संघले गत सोमबार राजविराजमा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

फोरमले मसाल जुलुस निकाल्ने जानकारी प्रहरीले पाए पछि नगरभित्र ब्यापक सुरक्षाकर्मी परिचालन गरेको थियो । फोरमले नगरको शिवमन्दिर र पार्टी कार्यालय गरी दुई ठाउँबाट मसाल जुलुश निकालेको हो ।

शिव मन्दिरबाट जिल्ला कार्य समितिले निकालेको मसाल जुलुसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त क्रममा केही प्रदर्शनकारीमाथि प्रहरीले सामन्य बल प्रयोग गरेको थियो । यस्तै पार्टी कार्यालयबाट युवा तथा महिला फोरमले निकालेको जलुस नगरभरि परिक्रमा गरेको थियो ।

परिक्रमा पश्चात् स्थानीय जनआन्दोलन चोकमा पुगेपछि प्रहरीले मशाल निभाउन खोज्दा केही बेर प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भएको थियो ।

सोही ठाउँमा आयोजना गरेको विरोध सभामा वक्ताहरूले समग्र मधेस एक प्रदेशबिनाको राज्य आफूहरूलाई मान्य नहुने बताए । उनीहरूले समग्र मधेस एक प्रदेशको स्थापना नभएसम्म आन्दोलन जारी रहने बताए ।

यस्तै मिथिला राज्यको माग गर्दै सप्तरीका मैथिलहरूले शुक्रबार भारदहस्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा एक घण्टा चक्काजाम गरेका हुन् । चक्काजाम भएपछि दर्जनौं सवारी साधनबीच बाटोमै थन्किँदा सयौं यात्रुलाई सास्ती बेहोर्नुपरेको थियो ।

चक्काजामपछि आयोजना गरिएको विरोध सभामा मिथिला राज्य संयुक्त संघर्ष समितिका संयोजक शुभचन्द्र झाले आफूहरू समग्र मधेस एक प्रदेशको विरोधमा नभएको स्पष्ट पारे । उनले भने, यदि समग्र मधेस एक प्रदेश नभई मधेस विभाजित भयो भन्ने अनिवार्य रूपमा मिथिला राज्य हुनुपर्छ । सप्तरीका मैथिलहरूले विगत एक सातादेखि मिथिला राज्य हुनुपर्ने भन्दै संघर्षका विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

अन्य समाचारहरु