मेरो स्मृतिमा बुबा: वेदाहा लिलाधर आचार्य

मेरो स्मृतिमा बुबा:    वेदाहा लिलाधर आचार्य

दिलीपकुमार आचार्य
मालारानी- १, अर्घाखाँची  हाल:  कोपुण्डोल, ललितपुर 

बुबा वेदाहा लिलाधरआचार्यकोअसामयिक देहान्त  हुँदा म कान्छो छोरा दिलीपकुमार आचार्य करिव  चार वर्षको थिएँ। आमा खगाश्वरा आचार्य बुबा भन्दा दुइ वर्ष अगाडि नै सैतिस बर्षको  अल्पायुमा स्वर्गबास हुनु भएछ।  पुरानो घरको पश्चिमतर्फको ढोका(जस्केल ढोका) बाहिर बुबा भुइँमै ओछ्यानमा सुति रहनुभएको थियोl म ढोका नजिकै थिए, बुबाले भन्नुभयो- बाबु पानी ल्याऊ। मैले भित्रबाट सेतो टलक्क टल्किने करुवामा पानी लगेर दिएँ। बुवाले खानुभयो। मेरो स्मृतिमा बुबासँगको व्यवहार यति मात्र छ ।अरु कुनै कुरा/ कार्य/ व्यवहारहरु सम्झनामा छैनन् । विडम्बना! आमा र बुबाको अनुहार पनि स्मृतिमा  छैन ।

 स्थानीय जनबोलीमा बुबा: 

        स्थानीय दाजुहरु, भाउजुहरु, आफन्तहरु, वारीपारिका इष्टमित्र र चिनजानका व्यक्तिहरुले मलाई समय -समयमा बताएअनुसार बुबा तत्कालीन समयको त्यो क्षेत्रको चर्चित/ कहलिएको वेदाहा  हुनुहुन्थ्यो। 'वेदाहा'  भन्नाले वेदको अर्थ लगाउन सक्ने व्यक्ति भन्ने बुझिन्छ। बुबाका सहपाठी र जानकारहरुले बताए अनुसार उहाँ धार्मिक ग्रन्थ 'वेद' शुद्धसँग पढ्न मात्र होइन वेदमा लेखिएका श्लोक र शब्दहरूको अर्थ लगाउनुहुन्थ्यो रे । सामान्यतया पण्डित वा संस्कृतका विद्वानहरुले समेत वेदको अर्थ बताउन सक्दैनथे तर बुवाले सबैले बुझ्ने गरी अर्थ/आशय बताईदिनुहुन्थ्यो रे। जुन कुरा मैले स्थानीय जनहरू मध्ये काउलेचौर घर्ती  कान्छा दाइ,भीरमुनिका घर्तीदाई ,पण्डित आत्माराम आचार्य, थुम्का ललितकुमार आचार्य,चुरामणी आचार्य, ललित पत्नी मावली हजुरआमा, भाउजुहरु डिलकुमारी,हरिता आचार्य, दाजीहरु, बुबाका जजमानहरु, लामडाँडाका बुबाका सुनार मितज्यू, बालकाटे पुन मामा,भुवनपानी,ढाॅड,अमिले ,गर्छा,आरुगैरा, फाप्रे,रानीचौरका बुबाका शिष्य र  सहपाठी/ समकालीनहरुबाट प्रत्यक्ष सुनेको थिए ।

 स्थानीय जनबोली अनुसार बुबा  वे. लिलाधर आचार्यका विशिष्ट गुणहरु:-

पूजा पाठ गराएर फर्किंदा आफूले ल्याएका फलफुल, प्रसाद,चामल, पैसा इत्यादि बाटोमा भेट हुने मध्यम, निम्नवर्गीय व्यक्तिहरु,कृषकलाई बाडी चुडी  दिने।

कहिलेकाहीँ घर फर्किंदा आफूसँग भएको नगद, जिन्सी पनि बाँडेर घरमा  रित्तो  हात अाउँदा आमाले दुखेसो पनि गर्नुहुन्थ्यो रे।

पूजापाठ गराउन गएको जजमान,  इष्टमित्रले  आग्रह गरेमा बेलुका उसैकोमा रात काटेर भोलिपल्ट घर फर्कनु हुन्थ्यो रे।

लैङ्गिक विभेदका कारण छोरीलाई वेद पढ्न नदिने तत्कालीन परिवेशमा बुबाले ठुल्दिदी  मानकुमारी पन्थीलाई वेद पढाउनुभएको रहेछ। दिदीले हामीलाई वेदका श्लोकहरू कण्ठस्थ सुनाउनुहुन्थ्यो बुबाबाट सिकेको भनेर।

अति उदार र दानी स्वभावका कारण घरमा आउने दुःखी, गरिव, बिपन्न र समस्यामा परेका हरुलाई कहिल्यै रित्तो  हात फर्काउनु हुन्नथ्यो रे।

 छुवाछुतमा विश्वास गरे तापनि रानीचौर, पुछारका दलितहरुलाई घरमा बोलाई मीठो मसिनो खान दिने, दान दक्षिणाबाट प्राप्त कपडा, खाट, भाॅडाकुॅडा  इत्यादि दिई पठाउनुहुन्थ्यो रे।

दलितहरु अभाव, गरिबी र अचेतनाका कारण घर झगडा गरेर कुटाकुट गरेमा सम्झाइबुझाई गर्नुहुन्थ्यो रे ।कहिलेकाहीँ झगडा परेर घरमा बस्न नसक्ने भएकाहरुलाई हाम्रो घरमा ल्याई हप्तौं र महिनौंसम्म पनि राखेर सेलरोटी पकाइ पाउरपात सहित आफैंले छोड्न जानुहुन्थ्यो भन्छन् स्थानीय वृद्ध दलितहरुl

बुबाको गुन र आत्मीय सहयोग सम्झेर रानीचौर डाँडाघरे  गोठे बुढी भनिने जंगबहादुर वि.क. की आमा भक्कानिएर आॅशु झारेको कैयौं  पटक मैले प्रतक्ष्य देखेको छु। त्यस्तै काउलेचोर घर्तीनी  कान्छी भाउजु बुबा आमालाई सम्झेर रुनु हुन्थ्यो। बेडाघरे पोखरेलनी सानी लगायत अन्य इष्टमित्रहरूले बेला बेलामा हामीहरुलाई हेर्दै 'दैवको लीला हेर यस्ता छोरा/ बुहारीहरु देख्न, भोग्न नलेखेको वेदाहा  कान्छा बाजे बज्यैलाई'  भन्दै वेदना सुनाएको ताजै छl

 परिवर्तित समय अनुकूल चल्न सक्ने व्यक्ति: 

दाजी राजेन्द्रकुमार आचार्यलाई एसएलसीपछि आइएस्सी पढेर डाक्टर बनाउने भनी बनारस पढ्न पठाउनुभएको बाट पुष्टि हुन्छl

 खरो, स्पष्ट बोल्ने बानी थियो भन्नुहुन्छ उहाँलाई नजिकबाट बुझ्ने, व्यवहार गर्ने व्यक्तिहरुl

"गुरुकुल शिक्षा प्रणाली" का प्रणेता: बुबाले तत्कालीन समयमा घरबाटै सयौ शिष्य,चेला र इच्छुक गुल्मी, प्युठान जिल्लाका समेत व्यक्तिहरुलाई गुरुकुल शिक्षा प्रदान गर्नुभएको ।

 स्थानीय रुपमा पाटी ,पौवा ,चौतारो बनाउने। वर, पिपल रोप्ने, वन जंगल संरक्षण गर्ने,  फटाई प्रवृत्ति भएका व्यक्तिहरूबाट सार्वजनिक जग्गा ,वन जंगल अतिक्रमण हुनबाट जोगाउन उहाँको योगदान अविस्मरणीय रहेको स्थानीय जानकारहरु बताउँछन्l

 सम्पत्ति/ धनको लोभ र इर्श्या नगर्ने स्वभाव उहाँमा थियो भन्नुहुन्थ्यो स्वर्गीय भविश्वर आचार्यl

गरिब, विपन्नको घरमा पूजा पाठ गराउन जान्दा चाहिने सबै सामग्री आफैले लिएर जानु हुन्थ्यो रे,सट्टामा जजमानले पैसा दिन खोजेमा चिनी,चियापत्ती किनेर    खाएस्  भन्नु हुन्थ्यो रे ।

नागपञ्चमीमा हजारौं नागका तस्विरहरु परम्परागत प्रविधिबाट छापी जजमान लगायत वारिपारिका  सबै जनलाई नि:शुल्क वितरण गर्नु हुन्थ्यो रे । आदि आदि….।

 अन्त्यमा, नाबालकको कारण बुबाको सामिप्यमा रहेर उहाँको बारेमा प्रत्यक्ष  अनुभव गर्न नपाए तापनि अग्रजहरुबाट सुनेको आधारमा  बुबा समयअनुसार चल्न सक्ने अत्यन्त सरल, शुद्ध र दानी हृदय  भएका उदाहरणीय धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो भन्ने ठान्दछु। बुबाआमाले राम्रो संस्कार दिनु भएकोले दाजी राजेन्द्रकुमार आचार्य र भाउजु हरिता आचार्यले म लगायत सम्पूर्ण परिवारजनलाई बुबाआमाको अभावको महशुस हुन कहिल्यै दिनु भएनl  

अन्य समाचारहरु