रिमिक्स (कविता )

रिमिक्स (कविता )

पिताम्बर बन्जाडे

दक्षिण पनि गइन्छ ;
उत्तर पनि धाइन्छ ;
आकाश पाताल जोडिन्छ ।
हे बाउ ! मलाई त्यही कुर्सी चाहिन्छ ।

नारा पनि लाइन्छ ;
कपडा नि फालिन्छ ;
नांगै भए भइन्छ ।
हे बाउ ! मलाई त्यही कुर्सी चाहिन्छ ।

पजेरो नि चढिन्छ ;
कार्पेटमाथि हिडिन्छ ;
फूल माला लाइन्छ ।
हे बाउ ! मलाई त्यही कुर्सी चाहिन्छ ।

शिक्षा स्वास्थ्य बेचिन्छ ;
आफ्ना मान्छे पोषिन्छ ;
मार्सी चामल पाइन्छ ।
हे बाउ ! मलाई त्यही कुर्सी चाहिन्छ ।
अस्तु: