सन्धिखर्कमा प्राज्ञिक विद्यार्थी संगठनद्धारा पृथ्वी जयन्तीकोे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

सन्धिखर्कमा  प्राज्ञिक विद्यार्थी संगठनद्धारा पृथ्वी जयन्तीकोे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न


नविन रसाइली 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्राज्ञिक विद्यार्थी संगठन सन्धिखर्क नगर इकाई अर्घाखाँचीले एकता दिवस तथा पृथ्वी जयन्तीकोे अवसरमा सन्धिखर्कमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । 


आज पुस २७ गते मङ्गलवार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वीजयन्तीको अवसरमा सन्धिखर्कको शान्तिबगैंचामा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा सहभागीले पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण सहित, अविर लगाइदिएका थिए । पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आज अर्घाखाँची सहित देशभरका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाइएको थियो ।


वि.स. १७७९ पुस २७ गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण शाहले बाइसे चौबिसे जस्ता स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई पुस २७ गते उहाँको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउने गरिन्छ ।

नेपालमा २००७ सालको क्रान्तिपछि नेपालमा आएको प्रजातन्त्रपछि योगी नरहरिनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनुपर्छ भनेर प्रक्रिया सुरु गर्नुभएको थियो ।

पृथ्वीनारायण शाहले स–साना क्षेत्र (भीरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसाल्नुभएको थियो । पृथ्वीनारायण शाहले सुरु गर्नुभएको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो ।

अन्य समाचारहरु