लकडाउनको समयमा बाल-बालीकालाई घरमै कसरी शिक्षण गर्ने

लकडाउनको समयमा बाल-बालीकालाई घरमै कसरी शिक्षण गर्ने

श्रीकृष्ण भुसाल

सन्धिखर्क-१, अर्घाखाँची । कोरोना भाईरस (कोभिड-१९) का कारण अहिले लाखौं बाल-बालीकाहरु विद्यालय जानबाट बन्चित भएका छन् l बाल-बालीका विद्यालय जान नपाउँदा अभिभावकहरु उनीहरुको भविष्यलाई लिएर चिन्तित देखिन्छन् । बाल-बालीकाको लागी घर महासागर हो भने विद्यालय एउटा कुण्ड मात्र हो l घरलाई बालबालिकाको पहिलो पाठशालाको रुपमा लिइन्छ l अहिलेको यो महामारीले निम्त्याएको विषम परिस्थितिमा दोश्रो पाठशालाको रुपमा रहेका विद्यालयहरु बन्द भएका छन् भने पहिलो पाठशाला रुपी घरहरु यस महाबिपत्तिको  अवस्थामा पनि अविच्छिन्न रुपमा संचालित छन् l तिनै पाठशालामा सुरक्षित आवास, पोषण, प्रेम, सद्भाव र अथाह ज्ञान सहितको शिक्षा दिनु आजको टड्कारो आवस्यकता हो l जसका शिक्षक आफ्नै हजुरबा-हजुरआमा अनि बाबा-आमा हुनुहुने छ भने सहपाठी आफ्नै दाजु-भाई अनि दिदी-बैनी l गृह विज्ञान, नैतिक शिक्षा, भाषा, साहित्य, कला, संस्कृति, इतिहास, बंशावली, स्वास्थ्य तथा सरसफाई, कृषि, पशुपालन, ब्यबहारिक गणित, रैथाने प्रविधि, जीव र वनस्पति विज्ञान, समाजसेवा आदि यसका विषयवस्तु र कहिल्लै भोक नमेटिने ज्ञान, बोध, सीप, प्रयोग, अनुभव र अभिवृत्ति हासिल गर्नु यसका उद्देश्यहरु हुन्  ।

शिक्षा नियमित-अनियमित, औपचारिक-अनौपचारिक विभिन्न तरिकाबाट अविच्छिन्न तवरले चलिरहने निरन्तर प्रक्रिया हो l भनिन्छ शिक्षा कोक्रोबाट सुरु भएर चितामा अन्त्य हुन्छ (Education begins from cradle and ends into the grave) l सायद शिक्षा कोक्रोबाट सुरु हुने भएको हुनाले नै घरलाई पहिलो पाठशालाको रुपमा ग्रहण गरिएको हो l मानिसले जीवन पर्यन्त अनियमित र अनौपचारिक तवरले जति सिक्छ त्यसको नितान्त सानो हिस्सा बराबर मात्र औपचारिक र नियमित तवरले सिकेको हुन्छ l औपचारिक शिक्षा पद्दतिले शिक्षालाई एउटा निश्चित ढाँचामा आवद्द गर्दछ र समकालीन समयमा समाज, देश र विश्वलाई कस्तो जनशक्ति आवस्यक पर्छ भन्ने आधारमा निश्चित पाठ्यक्रम भित्र शिक्षालाई समेटिएको हुन्छ l औपचारिक तथा विद्यालयीय शिक्षा पद्दति सिक्ने र सिकाउनेमा भन्दा पनि पढ्ने र पढाउने तथा पढेको कुरालाई तहगत र विषयगत रुपमा प्रमाणीकरण गर्ने दिशामा उद्दत हुन्छ, जुन परीक्षाको माध्यमबाट सम्पन्न गरिन्छ l तसर्थ हाम्रा विद्यालयहरु औपचारिक शिक्षालय हुन् र यी शिक्षालयमा वालवालीकाले रुचाए वा नरुचाए पनि पाठ्यक्रमले समेटेका विषयवस्तुहरु शिक्षकहरुद्वारा प्रत्यारोपण गर्ने प्रयत्न गरिन्छ र निश्चित स्केलमा उक्त प्रत्यारोपणको सफलता-असफलताको मापन गरिन्छ, चाहे त्यो अंकन प्रणाली होस् वा अक्षरांकन प्रणाली नै किन नहोस् ।

अब लागौं पहिलो पाठशाला रुपी आफ्नै घर तर्फ, जसले समाज रुपी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि अनौपचारिक र खासगरी अनियमित तवरले निरन्तर ज्ञान प्रवाह गरिरहेको हुन्छ, सिकाई कक्षाकोठाको कुनै पर्खाल भित्र सिमित हुँदैन भने प्रकृति नै यसको प्रयोगशाला हुन्छ l जसको पाठ्यक्रम असिमित हुन्छ, जीवन शैली नै यसको शिक्षण सिकाई प्रक्रिया हो र मूल्यांकन मानिसमा विकसित हुने मानवीय गुण (लक्षण) को आधारमा त्यहि समाज रुपी विश्वविद्यालयले निरन्तर रुपमा गरिरहेको हुन्छ l यस सन्दर्भमा प्रसिद्द शैक्षिक विचारक इभान इलिच (Ivan Illich) ले आफ्नो विश्व प्रसिद्द पुस्तक Deschooling Society मा भनेका छन्: "Universal education through schooling is not feasible" l उनले त अझै अघि बढेर  "The school is dead" भन्दै यसको बिकल्पको रुपमा "Learning Webs" को प्रस्ताव समेत गरेका छन्, जसले शिक्षालाई विद्यालयको चौघेराबाट मुक्त गरेर घर, समाज, प्रकृति र कार्यस्थलबाट सिकाई संजालेको निर्माण गरि सर्वव्यापी स्वरुप प्रदान गर्ने जमर्को गरेको छ l हुन त मानव जातीले अहिले नै विद्यालयहरुको विकल्प खोज्ने बेला भैसकेको छैन तै पनि अहिलेको बाध्यात्मक परिप्रेक्षमा यो सन्दर्भबाट यथेष्ट लाभ लिन सकिन्छ l

अब त्यस्ता केही विषयवस्तुहरुको सिकाईको बारेमा क्रमश: व्याख्या गरौं जुन हाम्रा नानी-बाबुहरुले विद्यालयबाट भन्दा परिवार र समाजबाट बढी सिक्ने सम्भावना रहेको हुन्छ l हाम्रा नानी-बाबु हरुलाई दैनिक रुपमा निश्चित समय उपलब्ध गराई क्रमश: यी विषयबस्तुहरु सिकाउनको लागी अभिभावक स्वयंले नै श्रोत व्यक्ति तथा सहजकर्ताको रुपमा काम गर्न उपयुक्त हुन्छ । साथै उनीहरुलाई एउटा छुट्टै पुस्तिकामा आफुले दैनिक रुपमा गरेका क्रियाकलापहरु र सिकेका विषबस्तु हरुको टिपोट (अभिलेखिकरण) गर्न समेत लगाउन सकिन्छ ।

१. गृह विज्ञान (Home Science): गृह विज्ञान त्यस्तो एकिकृत विधा हो जसमा प्राकृतिक विज्ञान, आरोग्यता, गृह-अर्थशास्त्र, ग्रामिण विकाश, समाजशास्त्र  र पारिवारिक सम्बन्ध, समुदायमा बच्ने कला, खाद्य, पोषण, पहिरन, कपडा बुनाई र गृह ब्यबस्थापन आदि विषयवस्तुहरु समावेश गरिएको हुन्छ l यसले जहिले पनि सैद्धान्तिक भन्दा ब्यबहारिक पक्षहरुलाई अंगालेको हुन्छ l त्यसैले विद्यालयको कक्षाकोठामा भन्दा स्वभावैले घरको परिवेशमा नै यसको प्रभावकारी सिकाई हुन्छ l शिक्षकहरु भन्दा परिवारका जेष्ठ सदस्यहरु नै यसका प्रभावाकारी सहजकर्ता हुन सक्नुहुन्छ ।

उदाहरणको लागी परिवारका सदस्यहरुको स्वास्थ्य स्थितिको बारेमा समिक्षा गर्ने, परिवारका बिभिन्न सदस्यहरु वा छिमेकीहरुलाई लागेका र लाग्न सक्ने विभिन्न रोगहरु, ती रोगहरु लाग्ने कारण, लक्षण, निदान, उपचार, बच्ने उपाय र आवस्यक रेखदेख आदिको बारेमा अभिभावक हरुबाट बाल-बालीकाहरुले जानकारी लिन सक्छन् l आधुनिक र बैकल्पिक (आयुर्बेद, प्राकृतिक चिकित्सा, ध्यान, योगा आदि) चिकित्सा पद्दति लगायतका आरोग्यताका विषयबस्तुहरु अभिभावकहरुको सहजिकरणमा ब्यबहारत हाम्रा नानी-बाबुहरुले सिक्न सक्छन् l खासगरी स्थानीय जडिबुटीहरुको पहिचान, संकलन र प्रसोधन गरि विभिन्न रोगको उपचारकोलागी आयुर्वेदिक औषधि तयार गर्न बाल-बालीकाहरुलाई सिकाउनु पर्दछ l दैनिक निश्चित समय बाल-बालीकाहरु संगै आफु पनि ध्यान बसी एकाग्रता ल्याउन सिकाउने, योगासनहरु गर्ने-गराउने आदि क्रियाकलापले उनीहरुको व्यक्तित्व निर्माण हुनुका साथै आरोग्यता समेत कायम हुन्छ l यसैगरी घरको आर्थिक अवस्थाको बारेमा नानी-बाबुहरू संग बस्तुगत छलफल गरि आम्दानिका श्रोतहरु, तिनबाट हुने जम्मा वार्षिक आम्दानी, सम्भावित खर्चका शिर्षकहरु र विभिन्न शिर्षकहरुमा हुने खर्चको लेखाजोखा लगायत गृह-अर्थशास्त्रका विषबस्तुहरु माथि छलफल गरि परिवार कसरी चलेको छ भन्ने वारेमा यथार्थ जानकारी दिन सकिन्छ l यसबाट बाल-बालीकाहहरुले वार्षिक वा मासिक आम्दानि-खर्चको अनुमानित खाका (बजेट) निर्माण गर्न, मितब्ययी हुन र भविश्यमा लिनु पर्ने परिवार प्रतिको आफ्नो दायित्वको बारेमा समेत जिम्मेवारी बोध गर्न सक्दन् l त्यस्तै गाउँ-घरमा विकाशका कामहरु कसरि संचालन भैरहेका छन्, थप आवश्यक्ताहरु के-के छन्, तिनीहरुको परिपुर्तिको लागी साधन र श्रोतको ब्यबस्थापन कसरी गर्न सकिएला, वातावरण संरक्षण सहितको दिगो बिकाश कसरि हासिल गर्न सकिएला भन्ने वारेमा अभिभावक हरुले आ-आफ्ना नानी-बाबुहरुसंग छलफल गर्ने, उपभोक्ता समितिका व्यक्तिहरु र स्थानीय जनप्रतिनिधिहरु संग अन्तरक्रिया गराउने, बिकासका आयोजनाहरु सफल पार्न आफुले सक्ने भूमिका निर्बाह गर्न लगाउने आदि क्रियाकलापहरुको माध्यमबाट ग्रामिण विकाशका विषयबस्तुहरु सिकाउन सकिन्छ l यसै गरी समाजको जातीय र धार्मिक संरचना, विभिन्न समुदायहरु बिचको सद्भाव र सहकार्य, रिति-रिवाज, रहन-सहन, चाल-चलन,  परम्परा, संस्कृति, संस्कार, खान-पिन, पहिरन आदिका साथै आफ्नो परिवारका सदस्यहरु बिचको नाता सम्बन्ध तथा अन्य परिवारहरु संगको नाता सम्बन्ध आदिको बारेमा आफ्नै परिबारका जेष्ठ सदस्यहरुबाट बिस्तृत रुपमा जनाकारी गराई उनीहरुप्रति गर्नुपर्ने ब्यबहारको बारेमा समेत सचेत गराएर समाजशास्त्र र पारिवारिक सम्बन्धको बारेमा सिकाउन सकिन्छ ।

 समाजमा रहेका बिभिन्न समुदायहरु संग सद्भाव र सहिष्णुता कायम गर्दै सबैसंग समुदायमा मिलेर बस्ने कला अभिभावकहरुले नै आफ्ना नानीबाबुहरुलाई सिकाउन सकिन्छ l हामीले दैनिक रुपमा प्रयोग गर्ने खाद्य पदार्थ, तिनीहरुको उत्पादन, प्रशोधन, भण्डारण  र बिक्रि-वितरण प्रक्रिया, मूल्य, गुणस्तर, उपयोगिता र महत्वको बारेमा अभिभावकहरुले बाल-बालीकालाई मसिनो संग जानकारी गराउन सकिन्छ l विभिन्न उमेर समूह र स्वास्थ्य अबस्थाका व्यक्तिहरुलाई कुन-कुन पोषण तत्वको कति-कति  मात्रामा आवस्यकता पर्दछ र उक्त पोषण तत्वहरु कुन-कुन खाद्य पदार्थ र लबणहरुमा पईन्छ भनेर अभिभावकहरुले बाल-बालीकालाई जनाकारी दिनु पर्दछ l यसै गरी मौसम, उमेर-अवस्था र चाड-पर्व  अनुसार  कुन-कुन पहिरनहरु लगाउनु उपयुक्त हुन्छ, तिनीहरुको स्याहार, मर्मत- सम्भार र सर-सफाईं कसरी गर्ने भन्ने बारेमा नानी-बाबुहरुलाई राम्रो संग सिकाउनु र उनीहरुलाई आफैले गर्न लगाउनु पर्दछ l साथै उन तथा विभिन्न रेशाहरुबाट कपडा बुनाई  गरी टोपी, झोला, स्विटर आदि बनाउने सिप सिकाउन सकिन्छ l घर-परिवारलाई सु-ब्यबस्थित तरिकाले कसरि संचालन गर्न सकिन्छ भनि गृह-ब्यबस्थापनको बारेमा बालबालिकाहरुलाई जानकारी दिन सकिन्छ l उनीहरुलाई घरभित्रको कार्य विभाजन, आर्थिक ब्यबस्थापन, सुरक्षा, लत्ता कपडा तथा खानपिनको प्रबन्ध एवं बाल-बालीका, जेष्ठ नागरिक, असक्त र बिरामीहरुको स्याहार, खेतीपाती, पशुपालन, रिति-रिवाज, पर्व आदिको ब्यबस्थापनको बारेमा राम्रोसंग जानकारी गराउनु पर्दछ ।

यसरी पहिलो पाठशालाबाट धेरै कुराहरु सिक्ने अभूतपूर्व अवसर महामारीले सिर्जना गरेको यो बन्दाबन्दीले हाम्रा नानी-बाबुहरुलाई दिएको छ l यसको भरपुर सदुपयोग गर्दै हामी अभिभावकहरुले सहजीकरण गरि पहिलो विद्यालयको कुशल शिक्षकको रुपमा आफुलाई स्थापित गरौं l बन्दावान्दी अन्त्य भएपछिको सामान्य अवस्थामा विस्तारै दोश्रो पाठशाला: हाम्रा विद्यालयहरु खुल्ने छन्, त्यतिबेला सम्म पुस्तकमा मात्र पढ्ने अवसर पाएका र ब्यबहारमा रुपान्तरण गर्ने अवसर नपाएका जीवन पर्यन्त कामलाग्ने यी विषयवस्तु बाट दीक्षित भएर हाम्रा बाल-बालीकाहरु  नियमित कक्षामा उपस्थित हुन सक्ने छन् ।

(लेखक अर्घाखाँची शिक्षा क्याम्पसका क्याम्पस प्रमुख तथा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) का केन्द्रीय सदस्य हुनुहुन्छ )

(यस लेखको बाँकी अंश क्रमश: प्रकासित गरिने छ )

अन्य समाचारहरु