कार्यमूलक अनुसन्धान ऐतिहासिक पृष्ठभूमी, अर्थ, परिभाषा, बिशेषता, प्रकार र ढाँचा

कार्यमूलक अनुसन्धान ऐतिहासिक पृष्ठभूमी, अर्थ, परिभाषा, बिशेषता, प्रकार र ढाँचा



 रबिन्द्र बहादुर खड्का शिक्षक
श्री जनज्योति मा. वि. स.न. पा.-२, अर्घाखाँची
नि.मा. सामाजिक

कार्यमूलक अनुसन्धान शब्दको प्रतिपादन अमेरिकन सामाजिक मनोविद Kurt Lewin ( 1890-1947) ले सन् १९४४ मा एउटा अनुसन्धानका क्रममा आविष्कार गरेका थिए । यस अनुसन्धानको उद्देश्य अनुसन्धान प्रकृयामा सहभागीहरूको सक्रिय सहभागिता तथा प्रजातान्त्रिक निर्णय गर्ने क्रियाकलाप मार्फत सामाजिक कार्यमा वृद्धि गर्नु रहेको थियो । Lewin को कार्यमूलक अनुसन्धान कार्यक्रमको लक्षित समूह अमेरिकी समाजमा रहेका अल्पसंख्यक समूहरूको बीचमा सम्वन्ध सुधारका लागि प्रयासरत कार्यकर्ताहरू थिए । Lewin ले कार्यमूलक अनुसन्धानको सैद्धान्तिक विकास र अत्यावश्यक सामाजिक परिवर्तन एकसाथ प्राप्त गर्न सकिन्छ भन्ने कुरामा विश्वाश गर्दथे ।

 शुरूमा Lewin का विचारहरू समूहको गतिशिलता र मानव सम्वन्ध निर्माणको क्षेत्रमा सफल रहेर आज पनि निरन्तर रूपमा सफल नै मानिन्छन् । उदाहरणको लागि उनले आफ्नो वेलायत भ्रमणपछि १९३० को दशकमा स्थापना भएको संस्था  'Tavistock Institute for Human Relations' को स्थापना र त्यसपछिका यसका कार्यहरूमा प्रत्यक्ष प्रभाव पारेका थिए । उक्त समय पछि, एकातिर अनुसन्धान अथवा परीक्षणको बीचमा र अर्कोतिर कार्य अथवा प्रयोगको बीचमा रहेको निकट सम्बन्धलाई जोड दिदै कार्यमूलक अनुसन्धानलाई व्याख्या गर्ने थुपै प्रयत्नहरू भएका छन् । 

शिक्षामा कार्यमूलक अनुसन्धानः

 Lewin को प्रभावमा कार्यमूलक अनुसन्धानको अनुसरण शिक्षाकर्मीहरूद्वारा पनि गरियो र Lewin स्वयम आफैले शिक्षकहरूसँग मिलेर कार्यमूलक अनुसन्धानको क्षेत्रमा काम गरे । उनका विचारको मूख्य प्रभाव Teacher, college र Columbia University का पाठ्यक्रम अनुसन्धान र शिक्षकहरू, विद्यालयहरू र जिल्लाका सामूहिक अनुसन्धानमा परेको थियो ।

• अर्थ र परिभाषा 

 कार्यमूलक अनुसन्धान एउटा यस्तो चक्रिय प्रक्रिया हो, जसमा एउटा शिक्षकले आफ्नो कार्यमा प्रक्रियाबद्ध हस्तक्षेप गरेर शिक्षणशैली सुधार र पेशागत क्षमताको विकास गर्ने अभ्यास गरेको हुन्छ । शिक्षकले वा कुनै पेशाकर्मीले आफ्नो काममा आफैले गर्ने सकारात्मक हस्तक्षेपकारी प्रयत्न कार्यमूलक अनुसन्धान हो । कार्यमूलक अनुसन्धान (Action Research) शिक्षकले शिक्षण कार्यमा अपेक्षित सुधार हासिल नभएसम्म कार्यथलोमै योजना बनाएर सो योजना अनुसार कार्य गर्न अनि त्यसको सूक्ष्म अवलोकन गरी त्यसबाट प्राप्त भएको नतीजालाई आत्मसात गर्ने कार्य निरन्तर गरिरहेको हुन्छ ।

 "कार्यमूलक अनुसन्धान एक प्रकारको प्रायोगिक सामाजिक अनुसन्धान हो जुन अनुसन्धानकर्ताको तत्काल कार्य प्रकृयामा सहभागिताको कारण अन्य प्रकारका अनुसन्धान भन्दा फरक छ ।"    --- Rapoport,1970  "कार्यमूलक अनुसन्धान खोजको एक यस्तो विधागत प्रक्रिया हो जसमा अनुसन्धान गर्ने व्यक्ति कार्यप्रति लक्षित हुन्छ । यसको लक्ष्य आफूले गरेको काममा सार्थक सुधार ल्याउनु रहेको हुन्छ ।"---- Association for supervision and curriculum Development.  "कार्यमूलक अनुसन्धान 'कार्य' (Action) र 'अनुसन्धान' (Research) दुवै सँग सम्बन्धित छ । सामान्यतः कुनै कार्य अनुसन्धान विना  अनुसन्धान पनि कुनै कार्य विना नै पनि गर्न सकिन्छ तर कार्यमूलक अनुसन्धानमा यी दुवै पक्ष जोडिएका छन् ।"  --- म्यागी कोट्स (२००५)

कार्यमूलक अनुसन्धान सम्बन्धित कार्य क्षेत्रमै, कामदारहरू, शिक्षकहरू, सुपरिवेक्षकहरू आदि द्वारा आफ्नो अभ्यास, क्रियाकलापमा परिवर्तन वा सुधारका लागि गरिने एउटा अनुसन्धान हो ।

• विशेषताहरू

१. चक्रीय प्रक्रियाः- कार्यमूलक अनुसन्धान आफ्नो कार्यमा अपेक्षित सुधार हासिल नभएसम्म निरन्तर रूपमा योजना बनाउने, त्यसलाई कार्यान्वयन अनि समग्र प्रक्रियाको अवलोकन गरी प्राप्त नतिजा आत्मसात गर्ने अभ्यास हो । क) योजना ख) कार्य ग) अवलोकन घ) प्रतिबिम्बन । यी चारमध्ये कुनै एकको अभावमा कार्यमूलक अनुसन्धानको चक्र पूरा हुदैन ।
२. सुधार लक्षितः- यो अनुसन्धान पेशागत सुधार लक्षित हुन्छ । कसैलाई दोष लगाएर आफू उम्किन वा कसैलाई दोषी प्रमाणित गर्नका लागी होइन । (Action research is done, not to prove, but to improve)
३. सामाजिक अभ्यासमा आधारितः- कार्यमूलक अनुसन्धान सामाजिक व्यवहारमा सुधार ल्याउन गरिने सरोकारवालाहरूको साझा अभ्यास हो ।
४. निरन्तर र प्रणालीबद्ध खोजः-  यस अनुसन्धानमा एक चक्रबाट प्राप्त समस्यालाई निराकरण गर्नको लागि निरन्तर नयाँ योजना बनाई खोज कार्य गरिन्छ ।
५. प्रतिबिम्बात्मकः- गरिरहेको कामको प्रतिबिम्बग (Reflection in action) गरिको कामको बारेमा प्रतिबिम्बन (Reflection on action) र आगामी दिनमा गरिने कामका लागि प्रतिबिम्बन (Reflection for action) नै कार्यमूलक अनुसन्धानको मुख्य विशेषता हो । 
६. सहभागितामूलकः- कार्यमूलक अनुसन्धान एक्लै गर्ने अभ्यास होइन यसलाई सफलतापूर्वक सम्पन्न गर्न शिक्षकले विद्यालयमा पेश गरेको प्रस्तावको स्वीकृति, अनुमोदन, कार्यान्वयन, तथ्याङ्क संकलन, प्रतिबिम्बन आदि पर्छन । यो चरणमा सुपरिवेक्षक, सहकर्मी र लक्षित समूहको सहयोग र समर्थन आवश्यक हुन्छ ।
७. पेशाकर्मीबाट निर्धारितः- कार्यमूलक अनुसन्धानको शीर्षक पेशाकर्मी आफैले निर्धारण गरेको हुन्छ । अरू कसैले यसको लागि विषय वा शीर्षक तोकिदिने होइन । यसको उठान नै पेशाकर्मीले दैनिक व्यवहारमा अनुभूत गरेका  समस्याबाट हुन्छ ।

• कार्यमूलक अनुसन्धानका प्रकार

१. कार्यान्वय गर्ने तहका आधारमा
क. व्यक्तिगत कार्यमूलक अनुसन्धानः- शिक्षकले कक्षा कोठामा समाधाग गर्न सक्ने समस्यामा आधारित रही गरिने अनुसन्धानलाई व्यक्तिगत तहको कार्यमूलक अनुसन्धान हुन् । जस्तैः कक्षा कार्यलाई कसरी सहज रूपमा सञ्चालन गर्ने, कस्तो गृहकार्य दिएमा विद्यार्थीले रमाएर गर्लान आदि ।
ख. सामूहिक कार्यमूलक अनुसन्धानः- विद्यालयमा पूरै कक्षा वा साझा टीम मिलेर कुनै समस्या समाधान गरी सुधार ल्याउन गरिने प्रयास यस अन्तर्गत पर्दछ । जस्तैः शैक्षिक भ्रमणमा विद्यार्थीलाई कसरी व्यवस्थित रूपमा अवलोकन गराउने, विद्यालयमा विद्यार्थी केन्द्रित शिक्षण विधिलाई हरेक कक्षामा कसरी लागु गर्ने आदि ।
ग. विद्यालयस्तरीय कार्यमूलक अनुसन्धानः- सम्पूर्ण विद्यालय परिवार र प्रशासनको साझा प्रयासबाट मात्र समाधान गर्न सकिने समस्याका लागि गरिने कार्यमूलक अनुसन्धान यस अन्तर्गत पर्दछन् । जस्तैः विद्यालयमा  विद्यार्थी भर्ना कसरी बढाउने, विद्यालयमा विद्यार्थी टिकाउ दरमा कसरी वृद्धि गर्ने आदि ।
घ. जिल्लास्तरीय कार्यमूलक अनुसन्धानः- जिल्लास्तरका समस्या समाधान गर्न यस प्रकारको अनुसन्धान गरिन्छ । जस्तैः शिक्षक दरबन्दी मिलान सम्बन्धी कार्यलाई विवादरहित वातावरणमा कसरी सम्पन्न गर्ने, शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई कसरी शुद्ध र त्रुटिरहित बनाउने आदि । यस्ता अनुसन्धानको विषयबस्तु शिक्षा विकास तथा समन्वय ईकाइका शैक्षिक प्रशासकका लागि उपयुक्त हुन सक्छन् ।
२. अग्रसरताका आधारमा
क. स्वतफूर्त कार्यमूलक अनुसन्धानः- यो अध्ययन र अनुसन्धानबाट प्राप्त सम्भाव्य उपायहरूलाई कुनै खास समस्या समाधानका लागि कार्यान्वयन गरी हेर्ने र आफूमा क्षमता विकास गर्दै जान गरिन्छ । जस्तैः गणितका सूत्रहरूको अवधारणा दिन ठोस वस्तुको प्रयोग गरिहेर्नु, सामाजिक अध्ययनमा परियोजना कार्य विधिबाट नक्शा कार्य शिक्षण गर्नु आदि ।
ख. प्रतिक्रियात्मक कार्यमूलक अनुसन्धानः- कार्यथलोमा कुनै समस्या आएको प्रतिबिम्बित भएपछि त्यसको समाधानका उपाय पत्ता लगाई पेशागत क्षमता विकास गर्नका लागि गरिने कार्यमूलक अनुसन्धानहरू यसमा पर्दछन् । जस्तैः विद्यार्थीले गृहकार्य गर्न रूची देखाएनन् , अब के गरी गृहकार्य गर्न प्रेरित गर्ने, सामाजिक विषयको परीक्षामा विद्यार्थीले उच्च अंक ल्याएनन्, कसरी शिक्षण गरेमा यो समस्या समाधान गर्न सकिएला आदि ।

• कार्यमूलक अनुसन्धान किन ?
- पेशागत समस्या समाधान गर्न 
- शिक्षण पेशामा उत्कृष्टता हासिल गर्न
- शिक्षण सिकाइबाट अपेक्षित उपलब्धि हासिल गर्न
- सकारात्मक परिवर्तनको दिशातर्फ उन्मुख हुन 
- प्रभावकारी शिक्षण व्यवस्थापन एवम् शिक्षण सिकाई क्रियाकलापको नमूना प्रस्तुत गर्न 
- कार्यसम्पादन स्तरमा सुधार ल्याउन र पेशागर दक्षता बढाउन । आदि 
• कार्यमूलक अनुसन्धानका चक्रहरू

विद्यालयका कक्षाकोठाको शिक्षण सिकाई प्रक्रियामा देखापरेका समस्या समाधानका लागि गरिने व्यवस्थित अध्ययनलाई कार्यमूलक अनुसन्धान भनिन्छ । यस्तो अनुसन्धानले शिक्षण अभ्यासलाई सुधार गर्न विद्यालयमा आवश्यक नीतक निर्माण गरि कार्यान्वयनमा ल्याउन सहयोग पु-याउदछ । कार्यमूलक अनुसन्धानको प्रक्रियालाई Stephen Kemmis ले एउटा चक्रिय प्रक्रिया (Cyclic Process) को नमूनाका रूपमा व्याख्या गरेका छन् । जसलाई तलको चित्रद्धारा देखाउन सकिन्छ ।
 

माथीको चित्रमा देखाए अनुसार कार्यमूलक अनुसन्धान प्रक्रिया योजना निर्माण ( plan), योजनाको कार्यान्वयन (action), अवलोकन (observe) तथा प्रतिबिम्बन (reflect) गरि चारवटा चरणहरू हुने गर्दछ । यी चारवटा चरणहरूको छोटो व्याख्या तल गरिएको छ ।

१. योजना (action) -  कार्यमूलक अनुसन्धान शिक्षक आफैले अनुसन्धानकर्ताको रूपमा काम गर्ने भएकोले विद्यालयको व्यवस्थापन, शिक्षण तथा विद्यालयमा अन्य क्षेत्रमा भएका विशेष समस्या निदान गर्ने कार्य आफैले गर्नुपर्दछ । जसका लागि सम्वन्धित शिक्षकले समस्याको पहिचान गर्न जरूरी हुन्छ । समस्या पहिचान गर्ने क्रममा समस्याको प्रकृतिको आधारमा कक्षा शिक्षण गर्दाको अनुभव, विद्यार्थीको पोर्ट फोलियो अधययन, डायरी टिपोट जस्ता माध्यमको प्रयोग गर्न सकिन्छ । समस्या पहिचान पश्चात, विश्नेषण गर्ने र सम्वन्धित कारणहरूको खोजिकार्य पनि गर्न सकिन्छ । यसका अलवा सहकर्मी वा प्रधानाध्यापकसँग समस्याको प्रमाणिकरण गर्ने कार्य समेत गर्न जरूरी हुन्छ । योजना कार्यान्वयन गर्ने क्रममा के काम, कस्का लागि, कसरी, कहिले सम्म र किन प्रश्नको उत्तर आउने गरी रणनीतिक कार्ययोजना तयार गर्दा अझ सहज हुन जान्छ । साथै योजना चरणमा समस्याको निदान भएपछि उक्त समस्याको समाधानको लागि गरिने कार्यहरूलाई क्रमबद्धरूपमा गरिने कामहरूको सूचिकरण गर्ने र उद्देश्य निर्धारण गर्ने लगायत विधि, साधन एकिन गर्ने कार्य समेत गर्ने गरिन्छ । अनुसन्धानको प्रस्ताव यस चरणमा तयार गरिन्छ ।
२.कार्य (action)- अनुसन्धानको वास्तविक कार्य यस चरणमा सम्पन्न गरिन्छ । यस चरणमा योजना गरे अनुसारका कार्यहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने, परिवर्तन गराउने, सुधार ल्याउने अर्थात उद्देश्य पुरा गर्ने गरी कार्य गरिन्छ । योजनामा उल्लिखित उद्देश्य, नमूना, विधि, साधन आदिको अनुसरण गर्ने कार्य गरिन्छ । कार्यान्वयन गर्ने क्रममा निरन्तर प्रतिबिम्बन गर्ने र परिस्थिति अनुसार योजनामा सामान्य हेरफेर पनि गर्नुपर्ने हुनसक्छ तर योजनामा व्यापप हेरफेर गर्ने कार्य भने गर्नु हुदैन ।
३. अवलोकन (observe) – यस चरणमा कार्यान्वयनको क्रममा विभिन्न साधनहरूको उपयोग गरी तथ्य संकलन गर्ने, प्रतिबिम्बन जर्नल (Reflective Journal) को नियमित प्रयोग गर्ने आदि काम सम्पन्न हुन्छ । यसका साथै आफुले समस्या समाधानको लागि प्रयोग गरेको रणनीतिहरूको प्रयोगका माध्यमबाट विद्यार्थीहरूले कसरी सिक्दै छन्, उनीहरूको सिकाईमा कति सहज भयो, त्यसको पनि अवलोकन गरिन्छ । यस कार्यका लागि योजनामा तय गरिएका विभिन्न अनुसन्धानका विधि र स्रोत साधनको प्रयोग गर्न आवश्यक हुन्छ । शिक्षकले ल्याउन खोजेको सुधार र विद्यार्थीमा आएको परिवर्तनको विभिन्न अवलोकनका साधनका माध्यमबाट गरिने लेखाजोखा नै अवलोकन कार्यका रूपमा सञ्चालन हुन्छ । 
४. प्रतिबिम्बन (reflect)- प्रतिबिम्बन हरेक चरणमा गर्नुपर्ने कार्य हो तापनि यस चरणमा माथीका तीनै चरणबाट सम्पादित कार्यको समग्र प्रतिबिम्बन कार्य गरिन्छ । उद्देश्य अनुरूपको परिणाम प्राप्त भयो भएन, अपेक्षित परिवर्तन वा सुधार भयो कि भएन, के- के कार्य राम्रा तथा सन्तोष गर्न लायक भए र कुन-कुन कार्य सोचे अनुसार भएनन् भनी चिन्तन गरिन्छ । कार्यमूलक अनुसन्धानमा सहयोगि व्यक्तिको प्रतिक्रया पनि लिइन्छ । प्रारम्भिक प्राप्तिबारे सम्बन्धित व्यक्तिलाई जानकारी गराउने र प्रतिक्रिया लिने गर्न सकिन्छ । माथि उल्लेखित चक्रहरू पुरा गर्दै शिक्षकले कक्षा शिक्षण गर्दा आईपरेका समस्याहरू समाधान गर्ने गरिन्छ । समस्याको प्रकृति अनुसार कुनै समस्या एक दुई चरणमा समाधान हुन्छन् भने कति समस्या समाधानका लागि तीन, चार वटा वा अझ बढि चक्र पनि आवश्यक हुन सक्छ । तसर्थ सम्वन्धित शिक्षकले एउटा रणनीतिको प्रयोग पश्चात कति सुधार आयो सो को विश्नेषण वा प्रतिबिम्बनका माध्यम यकिन गरी आवश्यक्ता अनुसार पुनःयोजना गरी थप चक्रको माध्यमबाट समस्या समाधान नभए सम्म कार्यमूलक अनुसन्धान सञ्चालन गर्नु पर्दछ । पेसाकर्मीले गर्ने अनुसन्धान भएका कारण र विषयको प्रकृति एवंम अध्ययनको रूची समेतका आधारमा अनुसन्धानकर्ताले तयार पार्ने प्रतिवेदन र यसको ढाँचामा विविधता हुन सक्दछ ।

कार्यमूलक अनुसन्धान प्रतिवेदनको नमूना ढाँचा
उदाहरणका लागि मात्र उल्लेख गरिएको छ अनुसन्धानको प्रकृति अनुसार ढाँचा फरक हुन सक्छन्
१. अनुसन्धानको शीर्षकः
- व्यक्तिगत अनुभव, पूर्व अनुसन्धानको सुझाव, सहकर्मीसगँको छलफल,आफुले भोग्नु परेका सिकाईका प्रमुख समस्याका आधारमा छनोट गर्ने ।
२. परिचय, सन्दर्भ, पृष्ठभूमीः
-  विद्यमान अवस्थाको( विद्यालयको, कक्षाकोठाको, शिक्षण सिकाई क्रियाकलापको, शैक्षिक उपलब्धि            आदिको) चित्रण गर्ने 
- सिकाई तथा गुणस्तरीय शिक्षाको सन्दर्भ जोडने 
- अनुसन्धानको औचित्य, आवश्यक्ता आदिको पुस्ट्याइ गर्ने 
३. उद्देश्य र प्रश्नः
-  हुन्छ वा हुदैन उत्तर आउने तय नगर्ने
- निर्देशित प्रश्न तय नगर्ने
- खुला प्रश्न स्वतन्त्र रूपमा उत्तर तथा विचार व्यक्त गर्न सकिने खालका प्रश्न तय गर्ने
- अनुसन्धान योग्य प्रश्न तयार गर्ने 
- समस्याको कथन, कारण आदि स्पष्टरूपमा उल्लेख गर्ने ।
४. सन्दर्भ सामग्रीः
- अनुसन्धान गर्न खोजिएको विषयका बारेमा पहिला भएका अनुसन्धानको पुनरावलोकन गर्ने 
- अनुसन्धान गर्नु पर्नुको आवश्यक्ता प्रस्ट्याउने
५. अनुसन्धान विधि ( तथ्याङ्क संकलन विधि, संकलनका साधनहरू) 
- गुणस्तरीय वा संख्यात्मक के विधि छनोट गरेको हो उल्लेख गर्ने के- के साधनहरू प्रयोग गरी सूचना संकलन गर्ने हो सो स्पष्ट उल्लेख गर्ने 
- किन उक्त साधनहरूनै उपयोग गरिएको हो सो को पुस्ट्याइ गर्ने 
- सूचना संकलनका लागि प्रयोग गरिएका साधनहरू अनुसूचीमा समावेश गर्ने
- कार्यमूलक अनुसन्धानका ररण अनुसार गरेका सवै प्रक्रियाको संक्षिप्त रूपमा उल्लेख गर्ने 
६. सूचनाको विश्लेषण र ब्याख्याः
- समस्या, उद्देश्य तथा सिद्धान्त समेतका आधारमा सूचनाको विश्लेषण र व्याख्या गर्ने
- कार्यमूलक अनुसन्धानका सवै चरणको अवस्था चित्रण गर्ने 
- नयाँ ज्ञान के प्रतिपादन भएको हो सो स्पष्ट रूपमा उल्लेख गर्ने
७. अध्ययनको प्राप्तिः
- के प्राप्त भयो स्पष्ट रूपमा उल्लेख गर्ने
- के प्राप्त हुन सकेन उल्लेख गर्ने
- समस्या के कस्ता देखिए सो समावेश गर्ने
८. प्रतिबिम्बन र सिकाईः
- पूर्व योजना अनुसारको उपलब्धि हुन सक्यो वा सकेन उल्लेख गर्ने
- के अनुभव रहयो सो उल्लेख गर्ने
- आफुले तय गरेको सुधारात्मक रणनीति अनुसार भयो वा भएन उल्लेख गर्ने
- के कति समस्या हल भए र के के भएनन् कुन- कुन चरणबाट के- के भए के- के हल भएनन्  सो उल्लेख गर्ने
- पुनः कार्यमूलक अनुसन्धान गर्न पर्ने हो वा होइन उल्लेख गर्ने
- उपलब्धि, प्रतिबिम्बन र सिकाईलाई सवै शिक्षक साथीहरूसँग छलफल गरेको कुराको समेत प्रतिवेदनमा उल्लेख गर्ने
- अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना आवश्यक पर्ने वा नपर्ने आदि उल्लेख गर्ने
९. पुनः योजनाको अवस्थाः
- उपलब्धि, प्रतिबिम्बन र सिकाईका आधारमा पुनर योजना तयार गरी पुनः कार्यमूलक अनुसन्धान गर्ने
१०. साभार तथा सन्दर्भ सामग्रीः
- आफनो अनुसन्धानसँग सम्वन्धित पूर्व साहित्य अनुसन्धान लगाएत अन्य प्रतिवेदन वा कुनै सूचना साभार गर्दा निर्धारित ढाँचामा उल्लेख गर्ने ।

सन्दर्भ सामग्रीः
- टिपिडि तालिम डकुमेन्ट,शिक्षा तालिम केन्द्र भैरहवा
- विकिपिडिया
-  कार्यमूलक अनुसन्धान हाते पुस्तिका, शैक्षिक जनशक्ति विकास केन्द्र, काठमाण्डौ 
- शिक्षक स्रोत पुस्तक
भाषा अनुवादमा सहयोग गर्ने श्री विजय मा. वि. स.न.पा. -११ का मा. वि. अंग्रेजी शिक्षक श्री कृष्ण बहादुर जि. सी.लाई विशेष धन्यवाद । 

अन्य समाचारहरु