बाजुराको खप्तड छेडेदह बुडाबाडाका डम्मबहादुर बुढाले डोका डालोबाट जीविकोपार्जन गर्दै

बाजुराको खप्तड छेडेदह बुडाबाडाका डम्मबहादुर बुढाले डोका डालोबाट जीविकोपार्जन गर्दै

शेरबहादुर सार्की गोरखापत्र 

बाजुरा, पुस २८ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका –६ बुडाबाडाका डम्मबहादुर बुढाले डोका डालोबाट नै जीविकोपार्जन गर्दै आउनुभएको छ । गाउँका अन्य सबै रोजगारी गर्न भारत जाने गरेको भए पनि बुढाले भने घरमै डोका, डाला, सुप्पा बुन्दै ती गाउँ गाउँमा लगेर विक्री गर्न थालेपछि उहाँलाई जीविकोपार्जनमा सहज भएको हो ।

बुढाले यही व्यवसायबाट दुई छोरा, दुई छोरीलाई गाउँ नजिकैको विद्यालयमा राम्रोसँग पठनपाठन गराउँदै आउनुभएको छ । ‘‘बुढाबुढीलगायत छ जनाको परिवार छ, छोरा छोरीलाई उच्च शिक्षा सम्म यसै व्यवसायबाट नै पठनपाठन गराउँने लक्ष्य राख्दै आएको छु,’’ बुढाले भन्नुभयो, “स्थानीय सरकारले मेरो यो व्यवसायलाई थप उर्जा दिने हो भने यो व्यवसायबाट नै छोरा छोरीको उच्च शिक्षा पढ्ने धोको पूरा गर्न निकै सहज हुन्थ्यो ।,,

गाउँ नजिकै रहेको बन मेलापातबाट निगालोको चोया ल्याएर त्यो चोयाबाट विभिन्न किसिमका डोका, डालो, सुप्पा लगायतका सामग्री तयार गरेर गाउँगाउँमा विक्री गर्दै आएका बुढाले अहिलेसम्म रोजगारीका लागि कतै ठाउँमा धाउनु नपरेको बताउनुभयो ।

बुढा भन्नुहुन्छ, “मेरो अघिल्लो पुस्ताले पनि यो व्यवसायले नै घर खर्च चलाउँदै आएका हुन् । म पनि यो व्यवसायबाट नै मेरो घरपरिवारको खर्च चलाउँदै आएको छु । रोजगारीको लागि कतै जानु परेको छैन् । जसरी मेरो पुस्तालाई यो व्यवसाय चलाउन सहज थियो, त्यसैगरी अहिले मलाई यो व्यवसाय चलाउन त सहज छैन । तैपनि मैले यो व्यवसाय गर्न छोडेको छैन ।

बुढाले भन्नुभयो,“ पहिला पचासदेखि साठी डोका गाउँ गाउँमा लगेर विक्री गर्दा धेरै अन्न तथा पैसा आउँथ्यो अहिले खासै फाइदा छैन । अहिले गाउँमा सडकको पहुँच छ, सबै ठाउँमा गाडी गुडिरहेका छन्, केही पैसा भाडामै सकिन्छ, केही पैसा खाना नास्तामै खर्च हुन्छ, घरमा आइपुग्दा थोरै पैसा मात्र पुग्छ । बुढाले भन्नुभयो, “यो व्यवसायलाई अहिलेको स्थानीय सरकारले व्यवसायीकरण गर्दै जाने हो भने म जस्तै यहाँका हजारौं स्थानीयहरुले पनि डोका डालो बुनेर घरपरिवार पाल्न सक्छन् ।’’

बुढाले भन्नुभयो, “म एक दिनमा चारदेखि पाँच वटा डोको बुन्छु, एक डोकालाई पाँच सयमा विक्री गर्छु । डोका सबै विक्री हुने हो भने म एक दिनमा दुई हजारभन्दा बढी कमाइ गर्छु ।’’
बुढाले भन्नुभयो, “पहिला डोका लिएर झाली, देवलसैन, बाह्रबिस लगायतका गाउँमा विक्री गथ्र्यौ राम्रो कमाइ हुन्थ्यो, अहिले गाउँ गाउँमा गाडी चल्नथालेपछि कमाइएको पैसा भाडामै जान्छ अनि त्यति कमाइ हुँदैन ।’’

बुढाले भन्नुभयो, “अहिलेको सरकारले हाम्रो यो व्यवसायलाई उद्योगको रुपमा लिएर बजारी करणको व्यवस्था गरिदिने हो भने म जस्तै हजारौं परिवारले गाउँमै रोजगार पाउँथे ।,

स्थानीय स्रोत र साधनको प्रयोग गर्दै निर्माण गरेका विभिन्न किसिमका सामग्रीलाई वडापालिकाले नै खरिद गरेर विक्री गर्ने योजना बनाएको भए पनि गतवर्षको कोरोनाको कारण यो सफल हुन नसकेको खप्तड छेडेदह गाउँपालिका ६ का वडा अध्यक्ष हर्कबहादुर रावतले बताउनुभयो ।

अन्य समाचारहरु