दोस्रो ठूलो चाड तिहारको आज मुख्य दिन अर्थात् भाइटीका | सप्तरङ्गी टीका लगाएर मनाइँदै

दोस्रो ठूलो चाड तिहारको आज मुख्य दिन अर्थात् भाइटीका | सप्तरङ्गी टीका लगाएर मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड तिहारको आज मुख्य दिन अर्थात् भाइटीका । आज दिदीबहिनीले आ–आफ्ना दाजुभाईलाई निधारमा सप्तरंगी टीका लगाइदिँदै दीर्घायुको कामना गर्दछन् ।

भाइटीकामा साइत पर्खनेहरुका लागि बिहान ११ बजेर ०२ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तर आफ्ना दाजुभाई र दिदीबहिनीबीच तिहारको टीका लगाउन साइत नै पर्खन नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ । राज्य सञ्चालकहरुले साइतमै टीका लगाउनुपर्ने भए पनि सर्वसाधारणलाई भने सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको उहाँको भनाइ छ ।

यसअघि, कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपञ्चक मंगलबारबाट शुरु भएको थियो ।

उता, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले पनि नेपालसहित विभिन्न देशमा रहने नेपालीले टीका लगाउने साइत पनि सार्वजनिक गरेको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने गर्र्दछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी टीका लगाईदिने गर्दछन् ।


आजको दिनलाई यम द्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाईदिए पछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाउने पश्चिम फर्कनुपर्ने राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन् ।

शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नु पर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका र मखमली, सयपत्री वा गोदावरी फूलका माला लगाइदिने गरिन्छ ।

प्रचलनमा सप्तरङ्गी टीका लगाउने गरिए पनि शास्त्रीय मान्यता भने रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा रङको टीका लगाउनु पर्ने उल्लेख छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने गर्दछन् । यसैबीच, काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा विहानैदेखि टीका लगाउनेहरुको घुईचो लागेको छ । वर्षभरिमा आज मात्रै खुल्ने यस मन्दिरमा दिदिबैनी नहुनेहरु टीका लगाउन जाने गर्दछन् । रासस 

अन्य समाचारहरु