के निहुँ पाऊँ, कनिका बुकाऊँ

के निहुँ पाऊँ, कनिका बुकाऊँ

मनोज भट्ट

एउटा अनलाइन पत्रिकामा का. सन्तबहादुरले नेपालीले नेकपा (मसाल) का विरुद्ध लगाएका आरोप र पार्टीपङ्क्ति तथा आम जनताका बिच पार्न खोजिएको भ्रमका विषयमा यो लेखमा चर्चा गरिएको छ ।

का. सन्तबहादुर नेपालीले एउटा लेखमार्फत नेकपा (मसाल) को नेतृत्वका विरुद्ध उत्रिन वा असहयोग गर्न पार्टीसदस्यलाई अपिल गरेका छन । यो बताइरहनुपर्ने आवश्यकता छैन कि यो “अपिल” केहि महिनाअगाडि सामाजिक सञ्जालमा प्रकाशित उहाँले दिएको अन्तर्वार्ताको विरुद्ध छ । त्यो अन्तर्वार्ता भनिएको थियो कि मसाललाई फुटाउने उद्देश्यले आफूले कुनै काम गरेको छैन । तर एक महिना नबित्दै नेकपा (मसाल) को नेतृत्वलाई असहयोग गर्नका लागि अपिल गर्नुहुन्छ । आखिर खास्टोले छोपेको बिरालोले म्याउ गरिछाडयो; अर्थात् उहाँले आफनो वास्तविक स्वरूप धेरै लामो समयसम्म लुकाउन सक्नुभएन । त्यसरी लुकाउन सम्भव पनि थिएन । अझ कुरा त्यति मात्र छैन, उहाँहरूले पार्टीभित्रका घुसपैठिया, छदमभेषी अराजक अनुशासनविहीन र दुस्मनका एजेन्टलाई वामपन्थी कमरेडको पदावली प्रयोग गरिएबाट पनि उनीहरूका बिचको सम्बन्ध कस्तो प्रकारको छ ? बुझुन पनि कुनै गाह्रो पर्दैन ।

नेकपा (मसाल) ले भुलवश वा नजानेर त्यस्तो प्रकारको गल्ती गर्नेलाई घुसपैठिया वा दुस्मनको एजेन्ट भनेको छैन । पार्टीलाई कमजोर बनाएर साम्राज्यवादी, विस्तारवादी तथा जनताका दुस्मनको सेवा गर्ने, एउटा निश्चित उद्देश्यअन्तर्गत काम गरिरहेकालाई नै घुसपैठिया र छदमभेषी भनिएको छ । आश्चर्यको कुरा के छ भने का. सन्तबहादुरले आफू “यसै पार्टीमा बसेर सङ्घर्ष गर्न खोजेको” कलाविहीन अभिनय त लेखमा गर्नुहुन्छ । तर त्यही पार्टीका आन्तरिक सर्कुलर अटुट रूपले दुस्मनसम्म पुर्याउने, छद्म नामबाट पार्टी र पार्टी नेतृत्वका विरुद्ध वैमनस्यता र वितृष्णा फैलाउने तत्त्वलाई कामरेड देख्नुहुन्छ । का. सन्तबहादुरको उनीहरूप्रतिको यस्तो प्रकारको आदरभावको अर्थ जोसुकैले पनि बुझ्न सक्दछन्; अर्थात् घुसपैठिया, छद्मभेषीहरू पार्टीको आवरणमा लुकेर र का. सन्तबहादुरहरू खुल्ला रूपमा मसालमाथि आक्रमण गरेर पार्टीलाई ध्वस्त पार्ने साझा अभियानअन्तर्गत काम गरिरहेको कुरा कसैबाट लुकेको छैन । “यसै पार्टीभित्र बसेर सङ्घर्ष गर्न चाहेका” मान्छेको पार्टीप्रतिको यो कस्तो प्रकारको निष्ठा र इमान्दारिता हो ?

लेखमा यो भनिएको छ कि “अब नेकपा (मसाल) सर्वहारा वर्गको पार्टी रहेन” । त्यसको प्रमाणको रूपमा आठौँ महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदनको पृष्ठ ३६ लाई अगाडि सारिएको छ । “सातौँ महाधिवेशनसम्म पार्टी सर्वहारा वर्गको पार्टी थियो । तर १३ वर्षपछि आएर हाम्रो पार्टी सर्वहारा वर्गको पार्टी रहेन । यसका लागि नेतृत्व जवाफदेही हुनुपर्नेमा यसको दोष स्थानीयलाई दिने प्रपञ्च गएिको छ” भनेर आरोप लगाइएको छ । यो आरोपमाथि ध्यान दिँदा आरोप लगाउनेले दस्तावेजको कुनै एउटा वाक्यलाई टिपेर भ्रम सृजना गर्ने कोसिस गरेका छन् । कुनै विषयका बारेमा समग्र धारणा बनाउनेभन्दा पनि कसरी विरोध गर्ने भन्ने पूर्वाग्रही मानसिकताले काम गरेको छ । निश्चित रूपले पार्टीको आठौँ महाधिवेशनले यो कुरामा प्रकाश पारेको छ कि सैद्धान्तिक रूपले हाम्रो पार्टी निरपेक्ष रूपमा सर्वहारा वर्गको पार्टी होइन । यो कुरा निरपेक्ष रूपमा मात्र सही हो तर सापेक्षिक रूपले नेकपा (मसाल) सर्वहारा वर्गको पार्टी हो । एकातिर, पार्टीमा निम्न–पुँजीपति वर्गको बाहुल्यता र अर्काेतिर, पार्टीको सैद्धान्तिक स्तरको कमीको सापेक्षतामा नै हामीले पार्टीको स्वरूपलाई बुझ्ने प्रयत्न गर्नुपर्दछ ।

विश्व कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक स्तर धेरै माथि भएका लेनिन र माओले नेतृत्व गरेका कम्युनिस्ट पार्टीको पनि पतन भएको छ । यो अवस्थामा सर्वहारा दृष्टिकोणको विकास र सैद्धान्तिक प्रशिक्षणमा जोड दिएर वा वर्गसङ्घर्ष र क्रान्तिकारी आन्दोलनमा भाग लिएर त्यस प्रकारका प्रवृत्तिमा सुधार गर्न सकिन्छ ।

राजनीतिक प्रतिवेदनको पृष्ठ ३६ को बुँदा नम्बर ५ मा नेकपा (मसाल) सैद्धान्तिक रूपले सर्वहारा वर्गको पार्टी भएको कुरा उल्लेख छ । वर्गीय रूपले नेपालमा किसानको बाहुल्यता छ । त्यो अवस्थामा पार्टीभित्र आउने सदस्यको वर्गीय श्रोत निम्न–पुँजीवादी वर्ग हो र पार्टीमा त्यसको बाहुल्यता हुनु पनि स्वाभाविकै हुन जान्छ । तर पार्टीले अथक मिहिनेतद्वारा सर्वहारा वर्गीय दृष्टिकोणको आधारमा निम्न–पुँजीवादी वर्गबाट आएका सदस्यको गैरसर्वहारा आनीबानी, अनुशासन, सक्रियतामा सुधार गरेर सर्वहाराकृत बनाउँदै लैजानै लगातार प्रयत्न गर्दै आएको छ ।

यो विषयको अर्को पाटोलाई पनि हेरौँ । जुन देशमा सर्वहारा वर्ग बहुसङ्ख्यामा हुन्छन त्यस्तो मुलुकमा पनि तिनीहरूलाई सर्वहाराकृत गर्नुपर्ने आवश्यकता कायम नै रहन्छ । सर्वहारा वर्ग भएका कारण तिनीहरू स्वतः क्रान्तिकारी हँुदैनन । क्रान्तिकारी सिद्धान्तद्वारा अर्थात् सर्वहारा विश्वदृष्टिकोणको आधारमा नै उनीहरूलाई सर्वहाराकृत बनाउनुपर्ने दायित्व कम्युनिस्ट पार्टीको काँधमा हुन्छ । यदि सर्वहारा वर्ग स्वतः क्रान्तिकारी हुने भए लेनिनले मजदुर आन्दोलनभित्र अर्थवादका विरुद्ध कडा सङ्घर्ष गर्नुपर्दैनथ्यो । लेनिनले युरोपमा मजदुरभित्र कुलीन तप्काको विकास भएको वा अमेरिकन कम्युनिस्ट पार्टीले अमेरिकामा मजदुर वर्ग प्रतिकृयावादी भएको भन्नुपर्दैनथ्यो ।

सातौँ महाधिवेशनले पार्टीका कार्यकर्ताको निम्न सैद्धान्तिक स्तरका कारण पार्टीमा देखा पर्ने विभिन्न भड्काव र समस्याको विश्लेषण गरेको थियो । आठौँ महाधिवेशनले पनि त्यही स्प्रिटमा विषयवस्तु र समस्यामाथि प्रकाश पार्ने प्रयत्न गरेको छ । त्यसका साथै त्यसमा सुधारका लागि जोड पनि दिइएको थियो र छ । सदस्यहरूको सैद्धान्तिक स्तर माथि उठाउन पार्टीले २०६५ सालदेखि स्थायी प्रकारको स्कुलसमेत सञ्चालन गर्दै आएको छ । आठौँ महाधिवेशन सुरु हुने मितिसम्म १८ वटा सेसन प्रशिक्षण कार्यक्रम सञ्चालन भएका छन् भने ४४१ प्रशिक्षार्थीले भाग लिएका छन् । पार्टी र जनवर्गीय सङ्गठनले नियमित रूपले प्रकाशनमा ध्यान दिएका छन । 

अन्य समाचारहरु